दसैँ देश विदेश जहाँसुकै रहेबसेका भए पनि समग्र नेपालीहरूको महान् चाड हो । हरेक वर्ष असोज महिनाको शुक्लपक्षको दशमीको दिन मान्यजनहरूको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिएर मनाउने यस पर्वको जे जति सांस्कृतिक महìव रहेको छ आर्थिक, सामाजिक र शास्त्रीय महìव पनि त्योभन्दा कम छैन । नेपाली समाजमा दसैँ पर्व मनाउने परम्परा कहिलेदेखि चल्यो यसै भन्न सकिने अवस्था त छैन तर असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मान्यताले मनाइने भएकाले यसको इतिहास खोतल्दै जाने हो भने झण्डै मानव सभ्यताको उषाकालतिर नै पुग्न सकिन्छ । यसो त नेपाली भूमिबाहेक विश्वको कतिपय अन्य हिन्दु समाजमा पनि विभिन्न नामबाट दसैँ पर्व मनाउने परम्परा नभेटिने होइन तर निधारको रातो टीका र कानको जमराले जहाँसुकै रहेबसेका भए पनि नेपाली हुनुको पहिचान बोध गराउने भएकाले नेपाली परम्पराको दसैँ मनाउने तरिका विशुद्ध मौलिक र वैशिष्ठ्यपूर्ण छ भन्नै पर्दछ ।
मूलतः हाम्रो यहाँ असोज शुक्ल प्रतिपदादेखि घटस्थापना गरी नौदिनसम्म शक्ति स्वरुपिणी माता भगवतीको उपासना गरेर दसैँ दिन अर्थात् दशमीको दिन विसर्जन गरी मान्यजनहरूको हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउनाले वर्षदिनसम्म सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । आयु द्रोणसुते भन्नेजस्ता सधैँ पढ्दै र सुन्दै आएको रेडिमेट एउटै श्लोक फलाकेर टीका र जमरा लगाएकै भरमा रोग, भोक र शोकले ग्रस्थ समाजमा को कसको के कति आवश्यकता पूरा भई सुख र शान्ति प्राप्त होला वा हुँदैआएको होला त्यो त यसै भन्न सकिन्नतर दसैँ पर्वले आपसी वैमनस्य बिर्साएर सामाजिक सद्भाव सम्बर्धनमा मनग्गे भूमिका निर्वाह गर्दै आएको यथार्थलाई भने बिर्सन हुँदैन ।
यस क्रममा वर्षदिन भरिको दुःखलाई बिर्साउँदै गाउँघर, टोलछिमेकमा कुनै आपसी वैमनस्यता र कटुता रहेका भए त्यसलाई समेत बिर्सेर एकै ठाउँमा जम्मा भई हर्ष र सुख साटी दसैँ मनाउने परम्परा त यसै पनि नौलो होइन नै दसैँकै कारण विभिन्न कारणले विदेशिन बाध्य भएका परिवारका सदस्यहरू एक आपसमा भेट हुन सम्भव भएको यथार्थ पनि नौलो होइन । यसबाहेक यसै पर्वका कारण पतिघरलाई नै आˆनो घर मानेर जीवन निर्वाह गर्दैआएकी त्याग र ममताकी जीवन्त प्रतिमूर्ति चेलीहरूले एकै दिनका लागि भए पनि पितृगृह र्फकने अवसर पाउँदै आएका छन् भने ज्वाईं भाञ्जाभाञ्जी आदिका लागि मामली, ससुरालीलगायतका आफन्तजनहरूसित भेट गराउने पुलको काम पनि यही पर्वले नै गर्दै आएको छ तर यसो भनिरहँदा अर्को कुन पाटोलाई पनि बिर्सन हुन्न भने नेपालका कतिपय भू-भागमा असोज शुक्ल पूणिर्मासम्म पनि आफन्तको हातबाट टीका लगाएर दसैँ मनाउने परम्परा रहिआएको छ । यस्तो परम्परा अहिलेको परिप्रेक्ष्यमा साह्रै लामो, भद्दा र आर्थिक तथा सामाजिक रूपले त्यति उपयोगी नदेखिएकोले यसलाई छोट्याएर एकै दिनमा मात्र मनाउने परम्परा बसाउनेतर्फ भने सबैको ध्यान जानैपर्ने देखिएको छ ।
विशेषगरी दसैँ भन्नाले नेपाली समाजमा राम्रो लगाउने र मीठो खाने पर्वको रूपमा पनि लिने गरेको पाइन्छ । सहरबजारका तथाकथित धनीमानीहरूका अगाडि राम्रो लगाउने र मीठो खाने भन्ने कुराले त त्यति महìव नपाउला । तर ग्रामीण भेकमा बस्ने झण्डै पचासी प्रतिशतभन्दा बढी शोषित, उत्पीडित र गरिबहरूमाझ राम्रो लगाउने र मीठो खाने कुराले के कति महìव राख्ला त्यो भने भनिरहन पर्दैन । सीमित सहरवासीका गगनचुम्बी महललाई छोडेर भन्ने हो भने अहिले पनि नेपाली समाजमा हुँदै आएको वा हुने गरेको घर सिँगार्ने, चोक, आँगन एवं करेसाबारी र बाटोघाटो सरसफाइ गर्ने कार्यले जो कोहीले पनि दसैँ आएको सोझै अनुमान लगाउन सक्दछ । अरू बेला नसही कम्तीमा वर्षमा एक पटक आउने दसैँमा मात्र भए पनि सरसफाइ पनि गर्नै पर्दछ र खाने आहार पनि पौष्टिक हुनै पर्दछ भन्ने नेपालीहरूको मौलिक मान्यता, विशेषता र बाध्यता रहिआएको छ । यसबाहेक रोटे पिंग, जाँते पिंग र लिंगे पिंग आदि पिंगसंस्कृतिबाट पाइने वा लिइने आनन्द त आˆनै स्थानमा छ ।
हाम्रो समाजमा दसैँ पर्वसँग सम्बन्धित यी र यस्ता केही सार्वभौम कृत्य छन् । जसले प्रत्यक्ष-अप्रत्यक्ष मानिसलाई स्वस्थ र निरोगी राखी शारीरिक रूपले मात्र नभई मानसिक रूपले समेत सुखी र आनन्दित बनाउने प्रयास गर्दैआएको छ । यसमध्ये पौष्टिग आहार र सरफाइको पराम्परा सिधै स्वस्थ्य संरक्षणतर्फ परिलक्षित देखिएका छन् भने पिंग र चङ्गाजस्ता अन्य विशुद्ध नेपाली परम्परा मानसिक शान्तितर्फ परिलक्षित देखिएका छन् तर हिजोआज चङ्गा उडानको क्रममा अनेक खाले दुर्घटना निम्तिने गरेका छन् पिंग खेल्न जम्मा भएको निहुँमा समाजका केही उरण्ठ्याउला केटाहरूबीच आपसमा झडप हुने, कुटपीट गर्ने र तुष पालेर रिस पोख्ने प्रवृत्ति पनि बढ्दै गएको पाइएको छ । यसतर्फ भने प्रहरी प्रशासन समाजसुधारकहरूका ध्यान पुग्नै पर्ने भएको छ । यसबाहेक सानाले ठूलाको हातबाट टीका र जमरा लगाई अशीर्वाद लिने परम्पराले सानाले ठूलालाई सम्मान गर्नु पर्दछ र ठूलाले सानालाई माय, स्नेह प्रदान गर्नु पर्दछ भन्ने भाव सञ्चार गरी आत्मिक अनुशासन र सामाजिक सद्भाव कायम गर्न खोजेको पनि प्रस्टै अनुभूत गर्न सकिन्छ । यिनै कुराहरूलाई मात्र मनन गर्ने हो भने पनि दसैँ पर्व तमसो मा ज्यातिर्गमयको पर्व मात्र नभई मृत्योर्मा अमृतं गमयको पनि पर्व हो भन्नुपर्ने अवस्था छ ।
यी त भए दसैँ पर्वसम्बन्धी सांस्कृतिक र सामाजिक मूल्य, मान्यता र महìवका प्रसङ्ग यस अतिरिक्त दसैँसँग सम्बन्धिबाहेक आर्थिक र शास्त्रीय महìवको पक्षलाई कम आँकलन गर्नु वा बिर्सन खोज्नु पनि अन्याय नै हुनेछ । दसैँकै कारण आन्तरिक आवतजावत बढ्ने र दसैँ फेष्टिवलकै लागि भनेर कतिपय विदेशी पर्यटकहरू पनि आउने गरेको विगतको यथार्थ छ । यसलाई मनन गर्ने हो भने आर्थिक महìवको पक्ष त यसै पनि प्रस्टै अनुभूत गर्नसकिन्छ । शास्त्रीय महìवलाई पनि त्योभन्दा कम छ भन्नु सर्वथा अनुचित नै हुनेछ ।
दसैँ पर्व मनाउँदा महिषासुर तथा शुम्भनिशुम्भ वध हुनुपर्ने शास्त्रीय मान्यता छ । महिषासुर र शुम्भनिशुम्भ भनेका यस्ता पात्र हुन् जसले सर्वथा काम, क्रोध, लोभ, मोह, हत्या, हिंसा, आतङ्क, अन्याय, अत्याचार, अभाव, अशिक्षा, गरिबी, कुरीति र कुप्रथाको प्रतिनिधित्व गर्दैआएको छ । यसकालागि पहिले सुग्रीवसित मित्रता गर्नुपर्दछ । सुग्रीव भनेको राम्रो घाँटी अर्थात् मीठो बोली र वचन हो । त्यसपछि धुम्रलोचन वध गर्नुपर्ने प्रसङ्ग आएको छ । धुम्रलोचन वध भनेको नराम्रो दृष्टिको अन्त गर्नु हो अर्थात् अरूलाई हेर्ने दृष्टिकोण सुृधार्नु हो । त्यसपछि चण्डमुण्ड वध गर्नुपर्ने हुन्छ । चण्डमुण्ड वध गर्नुभनेको जड प्रवृत्ति वा जड स्वभावको अन्त गर्नु हो ।
चण्डमुण्ड वधपछि रक्तबीज वधको प्रसङ्ग आएको छ । यसलाई कुवासना र कुभावना अन्तको प्रसङ्गमा जोडेर हेर्नुपर्ने हुन्छ । जसको बोलीवचन मीठो छ, जसले दृष्टिकोण सुधारेको छ, जड प्रवृत्तिलाई हटाउन सकेको छ कुवासना र कुभावनाबाट बच्ने प्रयास गरेको छ त्यस्ता मानिसका निम्ति वसुधैव कुटुम्बकम् अर्थात् सारा संसार नै आफन्त हुनु नौलो होइन । अनि जसका निम्ति सारा संसार नै आफन्त बनेका छन् त्यस्ता व्यक्तिका निम्ति सुख, शान्ति र आनन्द भनेको टाढाको विषय हुने पनि प्रश्नै आउन्न । त्यसैले पर्व मनाइरहँदा हामीले शास्त्रीय मूल्य, मान्यता र महìवतर्फ पनि दृष्टिगोचर गर्नै पर्ने भएको छ ।