मधुपर्क जेठ, २०६९
 
एउटा गुरुकुल भत्किए अर्को बन्ला
- सुनिल पोखरेल
 

वि.सं. २०२० असार २ गते खोटाङ जिल्लाको नौला भन्ने गाउँमा जन्मनुभएका सुनिल पोखरेल नेपाली रङ्गमञ्चको उज्ज्वल नक्षत्र मानिनुहुन्छ । वि.सं. २०३४ सालमा विराटनगरमा प्रदशित एक नाटकमा पर्दा पछाडि बसेर उद्घोषण गर्ने भूमिकाबाट सुरू भएको उहाँको रङ्गमञ्च यात्राले साढे तीन दशक पूरा गरिसकेको छ । हालसम्म तीन दर्जन जति नाटकमा अभिनय र तीन दर्जन जतिमै निर्देशन गरिसक्नुभएका पोखरेले पुरानो बानेश्वर -काठमाडौँ) मा स्थापना गर्नुभएको रङ्गमञ्चको भवन जग्गाधनीले थप समयको लागि भाडामा नदिएकाले भत्काइँदैछ । त्यही भत्काइँदै गरेको गुरूकुल रङ्गमञ्च छेउ नाटककार गोपालप्रसाद रिमालको सालिकमुनि बसेर मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको रङ्गमञ्चवार्ता यहाँ प्रस्तुत छ ः

१. रङ्गमञ्चलाई कसरी परिभाषित गर्नुहुन्छ ?

रङ्गमञ्च अभिव्यक्तिको एउटा माध्यम हो, जस्तो अरू माध्यमहरू छन् ।

२. रङ्गमञ्च र चलचित्रबीच के कस्ता समानता र अन्तर

देख्नुहुन्छ ?

समानताको कुरा गर्दा दुवै अभिव्यक्तिका माध्यम हुन् । म यी एक अर्काका पूरक हुन् त भन्दिनँ तर सहयोगी चाहिँ हुन् । यी दुई माध्यमबीच अनगिन्ती अन्तर छन् ।

३. तपाईं रङ्गमञ्चतर्फ कसरी आकषिर्त हुनुभयो ?

एउटा उमेरमा, भनूँ १३।१४ वर्षको उमेरमा जतिखेर मान्छेले आफूलाई कुनै माध्यमबाट अभिव्यक्त गर्न खोज्छ । त्यसक्रममा कसैले गाजा खान सुरू गर्छन् । कोही अन्य लागूऔषधतिर जान्छन् । कसैले प्रेमपत्र लेख्न सुरू गर्छन् । कोही खेलकुदतिर जान्छन् । कसैले साहित्य सिर्जनातिर लगाउँछन् । यस क्रममा म मेरो साथी रमेश बुढाथोकीको सङ्गतले नाटककमा आएँ । संयोग थियो त्यो । यसो भनूँ, सुरूमा नाटकतिर आकषिर्त हुने कारण खेल्ने रहर थियो । पछि गएर रङ्गमञ्च आफूलाई अभिव्यक्त गर्ने भरपर्दो ठाउँजस्तो लाग्यो ।

४. सडक नाटकप्रति तपाईंको कत्तिको लगाव छ ?

सडक नाटकमा पछिल्लो समयमा म शिल्पपक्ष कमजोर देख्छु, सौन्दर्य पक्षको कमी देख्छु र अलि बढी एन.जी.ओ/आईं.एन.जी.ओ. मुखी भएको देख्छु । त्यसैले गर्दा त्यति धेरै लगाव छैन यसप्रति । कचहरी नाटकप्रति भने लगाव छ । त्यसो त हामीले सडक नाटक पनि थुप्रै गरेका छौं ।

५. नेपालमा रङ्गमञ्चीय दृष्टिले नाटक लेख्ने नाटककारको अभाव छ, भनिन्छ नि ?

रङ्गमञ्चलाई नै सोचेर नाटक लेखिनु जरुरी छैन । रङ्गमञ्चमा अहिले सबै कुरा अटाउन सक्छन् । उपन्यास, निबन्ध, कविता सबै चीजलाई रङ्गमञ्चमा प्रस्तुत गर्न सकिन्छ । हामीले सञ्जीव उप्रेतीको घनचक्कर उपन्यासलाई रङ्गमञ्चमा प्रस्तुत गरेका छौं । कविताहरूलाई पनि प्रस्तुत गरेका छौं । त्यसैले रङ्गमञ्च बुझेकाले मात्र नाटक लेख्नुपर्छ भन्ने मान्यतासँग म सहमत छैन ।

६. तपाईं आबद्ध 'आरोहण' र 'गुरूकुल' यी दुई संस्थाबारे केही भनिदिनुहोस् न ।

'आरोहण' हामीले २०४८ सालमा नाटक मञ्चन गर्नका लागि स्थापना गरेका थियौँ । 'गुरुकुल' चाहिँ २०५९ सालमा नाटक गर्नुका साथै अलिक फराकिलो मञ्च बनाऔँ भनेर सुरु गरेका हौँ ।

७. नेपाली रङ्गमञ्चलाई मर्यादित र प्रतिष्ठापित गर्न गुरूकुल

-काठमाडौँ) को ठूलो योगदान छ । आज यो भत्किरहेको छ । यसको भविष्य कस्तो देख्नुहुन्छ ?

एउटा गुरुकुल भत्कियो तर अर्को गुरुकुल कतै बन्ला ।

८. गुरूकुलका लागि काठमाडौँमा उपयुक्त ठाउँ नपाए के

गर्नुहुन्छ ?

त्यसो भए, म यो काठमाडौँ कहिल्यै पनि टेक्दिनँ एयरपोर्टबाहेक । एयरपोर्टचाहिँ किन टेक्छु भने नाटक देखाउनका निम्ति विदेश जानलाई प्लेन चढ्न यहाँ आउनैपर्ने बाध्यता छ । नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल छैन ।

९. काठमाडौँबाहिर गुरूकुल स्थापना गर्नुपर्ने स्थिति आयो भने कुन ठाउँमा स्थापना गर्नुहुन्छ ?

तीन वटा विकल्प छन् । त्यो अहिले नभनौँ । सुरू गरेपछि भन्ने कुरा हो त्यो ।

१०. गुरूकुलमा प्रशिक्षित कलाकार कोही चलचित्रमा गएका छन्, कोही अन्य क्षेत्रमा । तिनले अरु ठाउँ गएर पाएको सफलता देख्दा के लाग्छ ?

खुसी लाग्छ । व्यक्तित्व विकासमा सघाउ पुर्‍याउन सकेकोमा गौरवको अनुभूति हुन्छ ।

११. नेपाली चलचित्रमा आˆनो छुट्टै स्थान बनाउन सफल चलचित्र 'लुट' मा गुरूकुलका कलाकारको अभिनयले पनि सफल बनाएको हो भनिन्छ । तपाईं के भन्नुहुन्छ ?

'लुट' चलचित्र सफल हुनमा गुरुकुलको प्रत्यक्ष रूपमा योगदान छैन । ती साथीहरू जो गुरुकुलबाट गए, तिनले राम्रो योगदान गरेका छन् ।

१२. नेपाली रङ्गमञ्चलाई अन्तर्राष्ट्रिय रङ्गमञ्चसँग तुलना गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

नेपाली रङ्गमञ्चको आˆनो खालको पहिचान छ । त्यो कति छ, त्यसको विश्लेषण गर्नु जरुरी छ । सायद समालोचकले गर्लान् । पहिचान भने छ ।

१३. विराटनगरमा स्थापित गुरुकुललाई पूर्वाञ्चलकै सांस्कृतिक थलाको रुपमा हेरिन्छ तर त्यहाँ निरन्तर नाटकहरु भइरहेका छैनन् भन्ने गुनासो सुनिन्छ । त्यहाँका लागि के कस्ता भावी योजनाहरू छन् तपाईंसँग ?

त्यहाँ पछिल्लो समयमा अलि बढी नाटकहरू भइरहेको कुरा मलाई थाहा छ । त्यहाँका लागि निश्चित योजनाहरू त्यहीँको टिमले बनाउने हो । त्यहाँको बारेमा त्यहीँको स्थानीय टिमले सोच्ने हो । हामी सहयोगी मात्र हौँ । र आवश्यक पर्दा जस्तोसुकै सहयोग गर्न तत्पर छौं ।

१४. तपाईंको अभि सुवेदीसँग निकटको सम्बन्ध भएका कारणले उहाँका नाटकहरुलाई प्रदर्शन गर्न बढी प्राथमिकता दिनुहुन्छ भन्ने आरोप छ । तपाईं के भन्नुहुन्छ ?

अभि दाइले मलाई माया गर्नुहुन्छ, त्यो मलाई थाहा छ । उहाँले मेरो बारेमा निकैपटक लेख्नुभएको छ, त्यो मलाई थाहा छ र म उहाँलाई अत्यन्तै आदर गर्छु । यस आधारमा मेरो उहाँसँग नजिकको सम्बन्ध छ भन्नु सत्य हो । उहाँका केही नाटकहरू हामीले मञ्चन गरेका छौँ, त्यो पनि सत्य हो तर उहाँका केही नाटकहरू जो हामीलाई उचित लागेनन् तिनलाई मञ्चन नगरेका पनि छौं । हामीलाई उचित लागेका नाटकलाई हामी बढी प्राथमिकता दिन्छौं, नाटककारसँगको व्यक्तिगत सम्बन्धलाई होइन ।

१५. तपाइर्ंले निर्देशन गरेका धेरै नाटक हेरियो । लगातार नाटक निर्देशन गर्दा कत्तिको थाक्नुभयो, कि अझ ऊर्जा थपियो ? तपाईंको निर्देशकीय क्षमताको स्वयं चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

ममा ऊर्जा अझै छ, थाकेको छैन । लगातार निर्देशन गर्नुपर्दा गुणस्तर चाहिँ खस्केको आफैँले पनि महसुस गरिराखेको छु ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px