वि.सं. २०२० असार २ गते खोटाङ जिल्लाको नौला भन्ने गाउँमा जन्मनुभएका सुनिल पोखरेल नेपाली रङ्गमञ्चको उज्ज्वल नक्षत्र मानिनुहुन्छ । वि.सं. २०३४ सालमा विराटनगरमा प्रदशित एक नाटकमा पर्दा पछाडि बसेर उद्घोषण गर्ने भूमिकाबाट सुरू भएको उहाँको रङ्गमञ्च यात्राले साढे तीन दशक पूरा गरिसकेको छ । हालसम्म तीन दर्जन जति नाटकमा अभिनय र तीन दर्जन जतिमै निर्देशन गरिसक्नुभएका पोखरेले पुरानो बानेश्वर -काठमाडौँ) मा स्थापना गर्नुभएको रङ्गमञ्चको भवन जग्गाधनीले थप समयको लागि भाडामा नदिएकाले भत्काइँदैछ । त्यही भत्काइँदै गरेको गुरूकुल रङ्गमञ्च छेउ नाटककार गोपालप्रसाद रिमालको सालिकमुनि बसेर मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको रङ्गमञ्चवार्ता यहाँ प्रस्तुत छ ः
१. रङ्गमञ्चलाई कसरी परिभाषित गर्नुहुन्छ ?
रङ्गमञ्च अभिव्यक्तिको एउटा माध्यम हो, जस्तो अरू माध्यमहरू छन् ।
२. रङ्गमञ्च र चलचित्रबीच के कस्ता समानता र अन्तर
देख्नुहुन्छ ?
समानताको कुरा गर्दा दुवै अभिव्यक्तिका माध्यम हुन् । म यी एक अर्काका पूरक हुन् त भन्दिनँ तर सहयोगी चाहिँ हुन् । यी दुई माध्यमबीच अनगिन्ती अन्तर छन् ।
३. तपाईं रङ्गमञ्चतर्फ कसरी आकषिर्त हुनुभयो ?
एउटा उमेरमा, भनूँ १३।१४ वर्षको उमेरमा जतिखेर मान्छेले आफूलाई कुनै माध्यमबाट अभिव्यक्त गर्न खोज्छ । त्यसक्रममा कसैले गाजा खान सुरू गर्छन् । कोही अन्य लागूऔषधतिर जान्छन् । कसैले प्रेमपत्र लेख्न सुरू गर्छन् । कोही खेलकुदतिर जान्छन् । कसैले साहित्य सिर्जनातिर लगाउँछन् । यस क्रममा म मेरो साथी रमेश बुढाथोकीको सङ्गतले नाटककमा आएँ । संयोग थियो त्यो । यसो भनूँ, सुरूमा नाटकतिर आकषिर्त हुने कारण खेल्ने रहर थियो । पछि गएर रङ्गमञ्च आफूलाई अभिव्यक्त गर्ने भरपर्दो ठाउँजस्तो लाग्यो ।
४. सडक नाटकप्रति तपाईंको कत्तिको लगाव छ ?
सडक नाटकमा पछिल्लो समयमा म शिल्पपक्ष कमजोर देख्छु, सौन्दर्य पक्षको कमी देख्छु र अलि बढी एन.जी.ओ/आईं.एन.जी.ओ. मुखी भएको देख्छु । त्यसैले गर्दा त्यति धेरै लगाव छैन यसप्रति । कचहरी नाटकप्रति भने लगाव छ । त्यसो त हामीले सडक नाटक पनि थुप्रै गरेका छौं ।
५. नेपालमा रङ्गमञ्चीय दृष्टिले नाटक लेख्ने नाटककारको अभाव छ, भनिन्छ नि ?
रङ्गमञ्चलाई नै सोचेर नाटक लेखिनु जरुरी छैन । रङ्गमञ्चमा अहिले सबै कुरा अटाउन सक्छन् । उपन्यास, निबन्ध, कविता सबै चीजलाई रङ्गमञ्चमा प्रस्तुत गर्न सकिन्छ । हामीले सञ्जीव उप्रेतीको घनचक्कर उपन्यासलाई रङ्गमञ्चमा प्रस्तुत गरेका छौं । कविताहरूलाई पनि प्रस्तुत गरेका छौं । त्यसैले रङ्गमञ्च बुझेकाले मात्र नाटक लेख्नुपर्छ भन्ने मान्यतासँग म सहमत छैन ।
६. तपाईं आबद्ध 'आरोहण' र 'गुरूकुल' यी दुई संस्थाबारे केही भनिदिनुहोस् न ।
'आरोहण' हामीले २०४८ सालमा नाटक मञ्चन गर्नका लागि स्थापना गरेका थियौँ । 'गुरुकुल' चाहिँ २०५९ सालमा नाटक गर्नुका साथै अलिक फराकिलो मञ्च बनाऔँ भनेर सुरु गरेका हौँ ।
७. नेपाली रङ्गमञ्चलाई मर्यादित र प्रतिष्ठापित गर्न गुरूकुल
-काठमाडौँ) को ठूलो योगदान छ । आज यो भत्किरहेको छ । यसको भविष्य कस्तो देख्नुहुन्छ ?
एउटा गुरुकुल भत्कियो तर अर्को गुरुकुल कतै बन्ला ।
८. गुरूकुलका लागि काठमाडौँमा उपयुक्त ठाउँ नपाए के
गर्नुहुन्छ ?
त्यसो भए, म यो काठमाडौँ कहिल्यै पनि टेक्दिनँ एयरपोर्टबाहेक । एयरपोर्टचाहिँ किन टेक्छु भने नाटक देखाउनका निम्ति विदेश जानलाई प्लेन चढ्न यहाँ आउनैपर्ने बाध्यता छ । नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल छैन ।
९. काठमाडौँबाहिर गुरूकुल स्थापना गर्नुपर्ने स्थिति आयो भने कुन ठाउँमा स्थापना गर्नुहुन्छ ?
तीन वटा विकल्प छन् । त्यो अहिले नभनौँ । सुरू गरेपछि भन्ने कुरा हो त्यो ।
१०. गुरूकुलमा प्रशिक्षित कलाकार कोही चलचित्रमा गएका छन्, कोही अन्य क्षेत्रमा । तिनले अरु ठाउँ गएर पाएको सफलता देख्दा के लाग्छ ?
खुसी लाग्छ । व्यक्तित्व विकासमा सघाउ पुर्याउन सकेकोमा गौरवको अनुभूति हुन्छ ।
११. नेपाली चलचित्रमा आˆनो छुट्टै स्थान बनाउन सफल चलचित्र 'लुट' मा गुरूकुलका कलाकारको अभिनयले पनि सफल बनाएको हो भनिन्छ । तपाईं के भन्नुहुन्छ ?
'लुट' चलचित्र सफल हुनमा गुरुकुलको प्रत्यक्ष रूपमा योगदान छैन । ती साथीहरू जो गुरुकुलबाट गए, तिनले राम्रो योगदान गरेका छन् ।
१२. नेपाली रङ्गमञ्चलाई अन्तर्राष्ट्रिय रङ्गमञ्चसँग तुलना गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
नेपाली रङ्गमञ्चको आˆनो खालको पहिचान छ । त्यो कति छ, त्यसको विश्लेषण गर्नु जरुरी छ । सायद समालोचकले गर्लान् । पहिचान भने छ ।
१३. विराटनगरमा स्थापित गुरुकुललाई पूर्वाञ्चलकै सांस्कृतिक थलाको रुपमा हेरिन्छ तर त्यहाँ निरन्तर नाटकहरु भइरहेका छैनन् भन्ने गुनासो सुनिन्छ । त्यहाँका लागि के कस्ता भावी योजनाहरू छन् तपाईंसँग ?
त्यहाँ पछिल्लो समयमा अलि बढी नाटकहरू भइरहेको कुरा मलाई थाहा छ । त्यहाँका लागि निश्चित योजनाहरू त्यहीँको टिमले बनाउने हो । त्यहाँको बारेमा त्यहीँको स्थानीय टिमले सोच्ने हो । हामी सहयोगी मात्र हौँ । र आवश्यक पर्दा जस्तोसुकै सहयोग गर्न तत्पर छौं ।
१४. तपाईंको अभि सुवेदीसँग निकटको सम्बन्ध भएका कारणले उहाँका नाटकहरुलाई प्रदर्शन गर्न बढी प्राथमिकता दिनुहुन्छ भन्ने आरोप छ । तपाईं के भन्नुहुन्छ ?
अभि दाइले मलाई माया गर्नुहुन्छ, त्यो मलाई थाहा छ । उहाँले मेरो बारेमा निकैपटक लेख्नुभएको छ, त्यो मलाई थाहा छ र म उहाँलाई अत्यन्तै आदर गर्छु । यस आधारमा मेरो उहाँसँग नजिकको सम्बन्ध छ भन्नु सत्य हो । उहाँका केही नाटकहरू हामीले मञ्चन गरेका छौँ, त्यो पनि सत्य हो तर उहाँका केही नाटकहरू जो हामीलाई उचित लागेनन् तिनलाई मञ्चन नगरेका पनि छौं । हामीलाई उचित लागेका नाटकलाई हामी बढी प्राथमिकता दिन्छौं, नाटककारसँगको व्यक्तिगत सम्बन्धलाई होइन ।
१५. तपाइर्ंले निर्देशन गरेका धेरै नाटक हेरियो । लगातार नाटक निर्देशन गर्दा कत्तिको थाक्नुभयो, कि अझ ऊर्जा थपियो ? तपाईंको निर्देशकीय क्षमताको स्वयं चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
ममा ऊर्जा अझै छ, थाकेको छैन । लगातार निर्देशन गर्नुपर्दा गुणस्तर चाहिँ खस्केको आफैँले पनि महसुस गरिराखेको छु ।