मधुपर्क जेठ, २०६९
 
भोग
- युवराज नयाँघरे
 

किनारमा छु रगते आहालको !

सधैँ त काठमाडौँ छोडेर घरै पुग्थेँ दसैँ मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मनले । थच्चिएँ यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दसैँ हेरौँ ! यसको पोल्टामा थच्चिनेका दसैँमा मिस्सिउँ र मनाउँ आफैँ पनि ।

नौरथाको अन्तिम दिन हो यो ।

नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल तारतम्य मिल्यो यो पालि । बिहानको चारैबजे जाने मेलोमेसो, त्यहाँ पुग्दा घामले सारीचोलो लाएर नाँचिसक्यो छमछमी । बाटाको जाम, भीडभाड अनि दोहोरीलत्ता मान्छेले सजिलै पुग्न दिए पो Û पुगियो, गनिमत भो यै ।

बाटैदेखि भेट्छु एकतमासको मार हनाइ ।

बटुल्न आएको छु शान्ति, चकमन्न, मौनता र सुनसानले दिने ज्ञानको अर्थ । मूर्तिमा लिपिएको रङ, मूर्तिमा खिपिएको कला र मूर्तिमा ओर्लिएको चरित्रले दिने दीक्षा जान्न आएको छु । मेरानिम्ति धर्म त्यै हो, अध्यात्म त्यै हो र दर्शनको गहन तरङ्ग त्यै हो ।

धेरैबेर नमन गरेँ दक्षिणकालीलाई ।

'हाम्री कुलकी आमा हुन् दख्खिन कालीमाई । तिनलाई बर्सेनी गएर भेट्नु Û'

सम्झन्छु आमाले भनेको ।

हाम्रो पुर्खाको मान्यता यस्तै शक्तिको सेरोफेरोमा रहँदैआएको छ । त्यो उपासनाले बलशाली बनायो र भनिरहृयो-'तिमी अघि बढ Û'

थाहा छैन-त्यो मौनतामा मानिसले कति शक्ति पायो, कति ऊर्जा सङ्कलन गर्‍यो र कति तागत बिस्तार गर्‍यो । हो, शक्तिपीठ पुग्नेक्रम रोकिएको छैन अद्यापि ।

बसेको छु आँखा चिम्म गरेर ।

मानिसहरू घन्ट बजाइरहेका छन् । कल्याङमल्याङ बढिरहेको छ बेस्सरी । धूपको बास्नाले नाकलाई लाछलुछ पारिरहेकै छ । नशामा नौलो भावको लुकामारी हुन छोडेको छैन । भीडभाडमा मन थिचिन्छ धेरै खेप ।

हेर्दाहेर्दै नयाँ परिवेश उम्लिरहेछ ।

आँखाले रगतका बाछिटामा नुहाइरहेका छन् घरिघरि ।

आजैको दिन किन रोजेको हुँला मैले ? यो रगताम्मे दिनै किन खोजेको हुँला मैले ? यो रगतपच्छे दिनै किन छानेको हुँला मैले ?

बोका, कुखुरा, पाडा र हाँसका रगतले आहालमय छ मैले टेकेको मन्दिरको पटाङ्गिनी । रगतले बोकेको रातोभित्रको रङमा अरू जम्मै रङ बिलाएका छन्, हराएका छन् र समाहित छन् । यी घोलिएका रङले मलाई आˆनो अर्थ र मूल्यका चौरऔँला ठड्याएको देख्छु म पटकपटक ।

जुत्ता, धेरै पर खोलेर आएथेँ मैले ।

खुट्टाका घुँडासम्म रगतका सिर्का र बाछिटाले लत्पताएका छन् । जताततै रगतका टाटा र थोप्लाथोप्लीले एउटा दिगमिगभित्र आउने सबैखाले विचारको चित्र आउँछ, शब्द आउँछ र तर्कना आउँछ । भुँवरी उठ्छ पटकपटक ।

हजार दृश्य नपढी भएकै छैन एकजोर आँखाले ।

त्यसो त यो नौ दिनभरि देशका शक्तिपीठमा निरन्तर छ रगतलीला । त्यो पढेको वा झिल्काझिल्कीले छोएकै हो छातीमा । अहँ, यसरी आँखैले देखिएको थिएन भने नि हुने-यसअघि ।

यो पीठको सबै सत्तलमा निधार रङ्गाएका बाहुनहरू चण्डी भट्टयाइरहेका छन् । दुर्गासप्तशती पढ्नेका घोक्रा सुकिसकेका देखिरहेछु म । देवी भागवत पढ्नेका चिमचिमे आँखामा तलमाथि गर्छ चस्माको डन्डी ।

यी हरेक घामपानीमा दृष्टि पुर्‍याइरहेकै छन्् मेरा आँखाले ।

रगतबाहेक क्यै नभएको पटाङ्गिनी Û ठाउँठाउँमा गाडिएको छ मौलो । धेरै ठाउँमा मौलो गाडिन सक्छ भन्ने अनुमानमै पनि मार हानिएको छ । रगतले देखाइरहेको छ-कम भो मौलोको सङ्ख्या Û

एउटा जुल्फेले आˆनै उमेरको पाडोको घाँटी मुनिको किल्किले समाएर चुप्पीले काट्यो स्वाट्ट Û अनि पाडोको लामो कण्ठनली तानेर वरिपरिका मूर्ति पखाल्यो रगतको धारोले । शरीरमा रगतको अभावले जिउँदो पाडो ढल्यो गल्र्याम्म । उता निर्जीव मूर्ति रक्तस्नानले उज्यालियो झन्झन् ।

ढुङ्गाले तरबार चम्काउनेहरू थिए । चुप्पी, खँुडा र चुलेसीमा साँध लाउनेहरू थिए । तिनका अनुहारमा रगतको उम्लाइ थियो त्यत्तिकै चमकदार । बालुवा, ढुङ्गा र चकमकले टलक्क टल्केका खुकुरीका धारमा आˆना अनुहार हेरेर ती भन्थे-'आज चैँ

ढालिन्छ Û'

कुखुराका भाले रेटिरहेका देखिन्थे किशोरका हुल । तिनका शरीरमा पुसंत्वको एउटा बिरुवासम्म उमि्रएको थिएन-तर ती मार हान्न र भाले रेट्न खुब डटेका लाग्थे । मृत्यु र जीवनको-एकदमै नमिल्ने खोलो बगिरहेथ्यो त्यहाँ ।

टाउको छुट्टयाइएका कुखुराका मुख एकातिर देखिन्थे प्याकप्याकी पारिरहेका । अर्कोतिर छटपटाइरहेका हुन्थे गिँडिएका ज्यान । कुनैकुनै त दशहात परसम्म उछिट्टिएर गई उपि|mरहेका हुन्थे । गति भनेकै त्यही । टाउको र ज्यान छुट्टँिदा त त्यो ऊर्जा छ भने-सिङ्गो जीवनमा कति धेरै हुँदोरहेछ सामथ्र्यको लय Û

मैले हेरिरहेँ रगत ओकलिरहेका कुखुराहरू ।

रगतको खोलो छ वरपर । आहालजस्तो ठाउँ, रगतको आहाल । रगत आफँै जमेर दलदल छ । जम्न नसकेको तह बगेको छ खोलाको धारमा । हँड्याइलो रङ बोकेर छेवैको नदी कुदेको छ तल....तल...।

एउटी युवती कसोकसो हुत्तिएर परी रगतको भासमा । ऊ आत्तिएर कराई र ओठबाट रगतका विरुद्ध भुत्भुताई केही शब्द । त्यो आवाजमा धर्म र पापको विवेचना कति आयो ? पूजा गर्न मन्दिर आएकी नारीसँग कुनै प्रश्न गर्ने साहस बटुलिनँ मैले ।

घन्टी बजाउँछु म ।

रगतको टाटोले रालो नै लाटो छ घन्टीको । बोल्न सकिरहेको छैन ऊ । आवाज थुनिएको छ रगतको लतपतले । घन्टीलाई पूरै छेकबार लाएजस्तो-रगतको छिटा र लेस्याइलो स्पर्शले । टड्कारो आवाज रगतले निलेछ घन्टीको-लोसे र सुस्त स्वर आउँछ मुस्किलले टिनिन्न.... ।

मन्दिरमा चढाइएका हरिया पात छन्-रातै पल्टिएका । फूलमा अरू रङ चढेको छ रगतको । हरिया पातले मौलिकता गुमाएर रगतको रङमा हाँसेका छन् ती ।

रगतपच्छे मौसममा उम्रेका पो थिए कि ती ?

पटाङ्गिनीपूर्व बोका लिएर उभिनेहरू छन् लामबद्ध । हातमा डोरी लिएर रगतका आँखा, मन र संवेदनामा उभिएको हुनुपर्छ तिनले । धमाधम मार हानिन्छ । एक, दुई र अन्त्यमा एकको पछाडि दुई शून्य हालेर पनि पुग्दैन । झण्डै चार वा पाँच अङ्क उभ्याएर अरू त्यस्तै सुन्ना नहाली धरै पाइन्न । मारको सङ्ख्या गन्न नि समय खर्चिनुपर्ने हुन्छ ।

असरल्ल टाउका देख्छु बोकाका ।

आँखा हेरिरहेका, खुल्ला । ट्वाल्ल, आकाश हेरिरहेका । जिब्रो टोकिरहेका र कान हल्लाएका एकाधले । ज्यान र टाउका अलग पार्नेका कुइनेटादेखि कम्मरसम्म रगतको धोइधाई छ । छिटा देखिन्छ मुखभरि । कान, नाक, जर्नी वा आˆनै गर्धनसम्म । रगतले पुछपाछ गरिएका तिनका अनुहारले रगतमा पौडिएर आएको प्रमाणपत्र देखाउँछन् हामीलाई ।

सिरिङ्ग हुन्छ मनको हरेक कुनाकाप्चा ।

तलबाट घाँटी रेट्नेले रगत भेला पार्छन् थाल, कचौरा र बटुकामा । अनि पातमा रगतका तीनचार थोपा मन्साएर ढोग्छन् । उता ढलिसकेको हुन्छ एउटा जीवन त । रगतको आहालमा अरू थोपाथोपी थपिएर अग्लिएकै हुन्छ दलदल ।

एउटा केटो आउँछ कुद्दैकुद्दै ।

उसले समाउन खोजेको चङ्गा मेरै अगाडिको रगतको दलदलमा खस्छ स्वाट्ट । चङ्गा लिएर रगते भासबाट बाहिरिएपछि खिन्न हुन्छ ऊ । एकातिर चङ्गा हात परेको विजयी मुस्कान त छ नै । फेरि रगतले लत्पतिएको चङ्गा उडाउन खोज्दा नउडेपछि-भएको खिन्नताले उसलाई विरक्त तुल्याउँछ । ऊ घरीघरी टकटकाउँछ रगतलाई । कागजमा टाँसिएको रगत पनि गरुँङ्गै हुँदोरहेछ हावाका लागि । लत्पतिएको चङ्गा क्यै गरी उड्दो रहेनछ ।

'बेइमान रगत ....Û'

चङ्गा नउडेपछि सराप पायो रगतले, किटोबाट ।

कान, आँखा, नाक र मन गतिमान छन् मेरा यतिखेर ।

नजिकै कुखुरा, बोका पोलेको चर्को गन्ध मेरा आँखाको बाटो भएर पुग्छन् नाकसम्म । त्यसपर अर्को शक्तिशाली इन्दि्रयले यी सबै दृश्यलाई रेखा दिएर, आकार दिएर र रङ दिएर लेखिरहेको छ फटाफट । अनि पो मलाई उतार्न सजिलो भएको छ यतिखेर ।

बढिरहेको छ घाम ।

दिनसँगै बढिरहेको छ रगतको आहाल । त्यो हुनुको अर्थ हो-मानिसहरू थपिए यहाँ । चहलपहल बढ्यो । अरू हानिए तरबार । खुकुरी, चुलेसी र खुँडाहरू अरू चले । निकै धारिला हतियारको प्रयोग छिटोछिटो भएको हुनुपर्छ ।

बाक्लिएको छ रगते दलदल । कम भएको भने होइन । तरल सुक्दा बाक्लो हुन्छ नि, थोरै भएको भन्ने कसरी ?

'मलाई मेरो मने चाहिन्छ Û'

एउटी सानी केटी भक्कानिएर रुँदै बोली ।

मने अलिक अघि उसको बाबुले छिनालिसकेथ्यो । सानाको खुसीभन्दा ठूलाको सन्तुष्टिले जित्ने ठाउँमा त्यो 'मने' को अर्थ थिएन ।

हो, छेवैको रगते आहालमा थपिएथ्यो एक तह । म हेर्छु-नजिकै परेवाका साना बच्चाहरू रगतमा लत्पतिएर कुनाकाप्चामा गरिरहेछन् चिउँचिउँ । प्वाँख उम्रेका परेवा नि रगतमा टाँस्सिएका चामल, तिल र जौका गेडा सक्तैनन् टिप्न । हेर्छन् मात्र । तिनलाई लाग्दो हो-यी दानामा जीवन छैन, बरू छ मृत्यु ।

शरीरका पहेँला भुत्लामा उडानको वेग भरिनु त कहाँ हो कहाँ Û रगतको लतपतले ती कलिला परेवा थच्चिएका छन् बरू ।

ऐनाजस्ता टलक्क टल्केका खुँडा घरीघरी धोइन्छन् रगतका सिर्काले । चारै कोणमा उठेका छन्- खुकुरी र खुँडा । साना, लामा, छोटा वा मझौला अनेक आकारका छन् ती हतियार तर सबैले बोलेको भाषा उही छ, सबैको उपस्थिति उस्तै छ र हरेकको मूल्य एकै छ ।

रगतको थलथल Û

मैले यतिखेर उपत्यकाभित्रका मैतीदेवी, म्हेपी, नरदेवी, नक्साल, वसन्तपुर, भद्रकाली सम्झेँ । जहाँ यही दृश्य र चरित्रका उस्तै चहकिला तस्बिर देख्न पाइन्छ ।

ओहो, कति छिटो आउँदोरहेछ मृत्युको चाल Û

अलिक अघि मात्र बासिरहेको रातो भाले दुईतिर छुट्टइिसकेछ कति चाँडै । भर्खरै भित्तामा सिँगौरी खेलिरहेको जखमले बोको दुईतिर बाँडिइसकेछ कति छिट्टै । केही अघिसम्म पात ठुँगिरहेको कलेजी रङको हाँस दुईतिर बाँडिइसकेछ कति हतारमा ।

रगतका आहालमा टेकेर वल्लो र पल्लो छेउ गरिरहेका आइमाई र केटाकेटीको भीड छ चौपट्टै ।

आहालमै उभिएर मन्त्रोच्चारण गर्नेका अनुहार पढिरहेँछु म । आहालमै टेकेर फूल छर्कनेका आवाज सुन्छु म । आहालमै फड्को मारेर बत्ती बाल्नेका ओठमा छरिएका खुसी र सन्तोष पढ्छु म ।

रगतले घेरिएको सानो पटाङ्गिनीमा युवतीका गोरा पैतालामा टाँसिन्छ डरलाग्दो आलो रगत । तिनका आँखामा कति प्रतिशत अँध्यारो र कति प्रतिशत उज्यालो ओर्लियो यतिबेला ?

रगतले अथ्र्याएको भाषा हुँदोरहेछ एउटै ।

एउटी अधबैँसेले मूर्तिलाई चढाएको स्याउ गुडेर खस्यो रगतकै लतपते दलदलमा । त्यसलाई नाकनिक गर्दै टिपी उसले । अनि निकै पटक पुछी सप्कोले । फेरि धोई तलको खोलामा गएर । मास्तिरकै रगत बगेथ्यो खोलामा पनि त । निकै पुछपाछ गरी उसले । खोई, उसको मनले मानेन । कर्‍याम्म टोक्न ओठसम्म ल्याएकी त्यो स्याउ तलै राखी । त्यत्तिक्कै रहृयो त्यो । रगते आहालबाट उडेर आएका झीँगाले घेरिएको छ त्यो स्याउ, अब त Û

म धेरै बेरदेखि हेरिरहेको छु-रगतको उकालीओराली । मान्छेको चाप थपिएको छ झन् । भीड कति धेरै Û भीडभाड बढेको यो पनि हो-अब खुँडा र तरबार चलेका अनि बोका ढलेका खुब देख्न पाइन्छ ।

अलिक अघिसम्म एकै हातले मार हानिरहेको त्यो जुल्फे पनि थाकेर अहिले त दुई हातले छप्काइरहेछ बोका । थकाइबाट जानिन्छ बगेको रगते नालीबेली ।

उसले गरेको गफ सुन्छ--'म एकै हातले छप्काउँथे पैला । बिहानभरि त एकै हातले छिनालेकै हो नि Û'

जे होस्, रगतको आहालमा थपिएको छ केही अरू ।

एउटी सानी केटी निकै अघिदेखि परपर सिँढीतिर केही खोजखाज गरिरहेकी देखिन्थी । उसको टाउकोमा थियो सानो मजेत्रो । उसले निहुरेर टाकनटुकन पैसा खोजेकी लागिहेथ्यो मलाई ।

कुनबेला-कुनबेला ऊ उभिएकी रहिछे मेरा छेउमा ।

उसले दसतिर आँखा घुमाएर पैसाका कन्चाकन्ची भेला पारिरहेकी प्रष्ट भो ।

'दाइ, पैसा दिनु न Û'

ऊ उभिइरही मेरो अघिल्तिर ।

मेरो छेवैमा थिए धोती फेरिरहेका वृद्ध ब्राहृमण । उनले आˆनो कमीजबाट झिके एक रुपियाँको डबल । डबल केटीको हात परेन । गुड्दै गएर लत्पतियो रगतमा ।

ऊ अँध्यारिएर दगुरी डबल लिन ।

रगतमा चोबलियो डबलको एक भाग । ऊ सिन्काले तानिरहिछ पैसा तर डबल त झन्झन् गाढिन्छ रगते दलदलमा । ऊ त्यो डबल झिक्न चारैदिशा घुमिसकी ।

औँलाले पैसा छुन डराइरहेकी त्यो केटीका पिँडुलाभरि रगतका छिटा र दलदलले छोइसकेको छ तर उसले झिक्न सकेकी छैन डबल । उसको कन्चट र नाकेडाँडीमा चिट्चिट् छ पसिनाको । आक्रोश, आकुलता र आशाले घेरा हालेको छ उसको अनुहारमा ।

मैले पूर्वपट्ट िदेखेँ, बलियो बाबु आˆनो किशोर छोरालाई सिकाइरहेछ कुखुराको भाले रेट्न । भालेले पहिला त केटालाई ठुँगेर बच्न खोज्यो तर हतियारका सामु रगत नबग्ने कुरै भएन Û खुट्टा समाई अँठ्याइदियो बाबुले । छोराले टाउको राख्यो खुकुरीमा अनि गर्धन दबायो ढुङ्गाले । मूल हड्डी भाँच्चिएपछि छोराले छिनाल्यो भाले । उसले रिसले भालेको रगतले छेउछाउका सबै मूर्ति पखाल्यो ।

मरेको भाले झुण्ड्याएर र्फकंदा किशोर बोलिरहेको थियो-'साला, तेरो सारा फूर्ति यो रगतै त हो नि Û'

रगत खाएर अघाइसकेका थिए सबै मूर्तिहरू । रगत पिएर सबै मूर्तिहरू तृप्त भइसकेका थिए ।

बिहानको दस-एघार बजेको हुनुपर्छ अहिले । जुन वेग, जुन तीव्रता र जुन आँधीसाथ रगतको भेलबाढी आएको छ-यो ठाउँ मात्र होइन सारा देशकै मूर्तिहरू परिपूर्ण भइसकेका हुनुपर्छ ।

'ढाडिएर बसेका होलान् Û'

मूर्तिहरू हेर्दै मनको उत्तर फर्काउँछु म ।

जुँगाको रेखी बसेको एउटा युवकले बोकालाई छप्काउन खोज्यो । खुकुरी गर्धनमा परेन, पर्‍यो खुट्टामा । बेस्सरी करायो बोका ।

'ए खानका काल, देवीले बोकाको खुट्टाको रगत खाँदिनन् । गर्धनकै रगत चाहिन्छ Û'

झ्वाँक्कियो कन्पारा फुलेको छेवैको मान्छे ।

ऊ अब भगवान्लाई चढाउने गर्धन छिनाल्न लागिपर्छ । एक पटक, दुई पटक, तीन पटक । उफ् ......बल्ल चार पटकमा छिनालिन्छ बोका । यसबीचमा बोका कराएको र हल्लीखल्ली मच्चिँदा वातावरणमा उत्तेजना फैलिन्छ बेस्सरी । हारजितको प्रतिक्रिया हरेकको ओठमा झुन्डिएको देख्छु ।

एकै छप्काइमा बोका नछिनेको वेदनामा तन्नेरीको अनुहारमा आएको प्रहारको तूफान देखेर धेरै वृद्धका छातीमा कम्प छुटेको हुनुपर्छ । म त हिंसाको ठूलो हुण्डरी आएको अनुभूतिमा परेँ त्यस घडी । छ्याक्छ्याक् भएको गर्धनबाट रगतको मुस्लो पनि बग्यो छरिएर मूल फुटेको बगरजस्तो ।

गन्जागोल थपिएको छ पटाङ्गिनीमा ।

रगत सुक्ने र थप्नेक्रम निरन्तर छ । पटकपटक रगतका छिर्का थपिन्छन् । स-साना खोल्सी भएर आˆनो नयाँ रूप बनाएको देखिरहेको छु म यहाँ । नदी बन्छन्, सुक्छन् र फेरि अनौठो रूपमा यो दलदलले आकाश निर्माण गर्छ ।

सानो कालो पाठीलाई पछाडि दुई खुट्टा समाएर बसेको वृद्धले भन्या--'ए केटा, पाठीलाई पर्सी-पर्सी Û'

खुकुरी समाएकै केटाले कचौराको पानीले पाठीलाई छर्कियो । पाठी त मौन । कहिले कहिलेदेखि होस गुमाइसकेको छ उसले । गर्धन तन्काएर बसिरहृयो ।

'ए केटा, पाठी चल्मलाइन त । मार नहान् । भगवान्ले नै नमानेजस्तो छ Û'

उनीहरू खुकुरी दापमा राखेर चुरोट खान थाले ।

मसँग आज रगतको हिसाबकिताब मात्र पो भो' त Û आधादिन चैँ रगते आहालको किनारले दिएको तस्बिरले मेरो मन भरिए टम्म । कान त्यसैले भरियो । आँखा त्यसैले छोपिए । मनभरि यी रगतका गीत, सङ्गीत र स्वरमा थल्लिएँ म ।

मेरो छेउमा एउटा जखमले गनाउने बोको ठीक पारिएको रहेछ छिनाल्न । म पर-परका हाँस, कुखुरा, पाडामा आँखा फालिरहेथेँ । छेवैको रगत लीलामा बेखबर रहेछु म त ।

'लौ बाबु, बोका पर्सी-पर्सी Û'

सानो केटाले पानीले छ्याप्यो । बोकाले आङ हल्लाएर पानी फाल्यो, गर्धन हल्लाएर जीउ चलायो र कान हल्लाएर पट्पट् पार्‍यो ।

'लौ, भगवान् माने । अब खुकुरी चला Û'

चलि त गो खुँडा, बोकाका गर्धनमा ।

मैले हेरिरहेँ, रगतका अरू धेरै सिर्का खसे । थोपा-थोपामा जीवन थियो । संसारले बोकेको जीवन थियो । यो संसारमा सबै खालका चरित्र थिए तर अब थोपा भएर सुक्छ कट्कटिँदो, कक्रिँदो र रातो टाटो Û

गर्धन तन्काएर बसेका बोकाका लाम छन् । उठेका छन् खुँडा । तरबार हावामा टल्केर भुइँतिर बजि्रन तम्तयार छन् ।

घ्वाप्प Û छ्वाक्क ÛÛ यत्ति दुई आवाजमा बोका, पाडा वा कुखुराका गर्धन छिनालिन्छन् ।

रगत बग्दा त आवाज नहुने-बगिसकेपछि पो होहल्ला । संसार यही प्रतिक्रिया दिन बसेको छ । गर्धनमा तरबार पुगिसकेर आउने आवाजपछि नै बोल्दोरहेछ संसार ।

धेरै बेरदेखि तरबार छेउमै रहेँ म ।

खुँडा र चुलेँसीका धार हेरीहेरी बसेँ । खुकुरीका सेता चम्चमाइ र रगतले लत्पतिएका धार छेउमा रहेँ । सङ्ख्या गन्न थालेपछि गुण बिर्सिंदो रहेछ । रगते आहालमै थिएँ । हेर्न र तरङ्गित भइभई कतिन्जेल समय फर्काउन सकिन्छ र ?

भगवान्लाई बलि चढाइएको थियो । पशुलाई मार हानिएको थियो । देउतालाई भोग दिइएको थियो ।

यी सबै प्रमाण मेरै अघि भएथ्यो ।

साक्षी थियो रगते आहाल Û

मैले आँखा खोल्दै, बन्द गर्दै सबै कुरा हेरिरहेँ । हरेक तरबार चलाइ हेरेँ । खुँडा उठाइ हेरेँ । खुकुरी हनाइ हेरेँ ।

निकै अघिदेखि अनेक कौतुक अनुहारमा एउटा खैरो रङको विदेशी जताततै तस्बिर खिचिरहेको देखिरा'छु म । ऊ हतास छ, व्यग्र छ । कताकताबाट आइपुग्यो मेरो छेउमा ।

रगतको ठूलो खोलो यहीँ भएकैले यता तानिएको हुनुपर्छ ऊ । फटाफट क्यामेरा चलाएर एकछिन मौन बस्यो ।

तीनचार पातमा रगतका थोपा चढाइरहेको एउटा बूढोतिर फर्केर विदेशीले सोध्यो- 'यो के गरेको ?'

बोकाको रगते छिटाले मुख पोतिएको युवकले मुख खोल्यो ।

'धर्म गरेको Û'

'पाप चैँ के त ?' विदेशीले क्यामेरा तेस्र्याएर सोध्यो ।

सोध्नेले सोधेका कुरा सुन्ने मान्छे फेरि अर्को बोकालाई छिनाल्न उठाइरहेथ्यो खुँडा । म गुनिरहेथेँ उसका कुरा । प्रश्न गर्ने बाटो लागिसकेथ्यो ।

मन्दिरछेउ थामिएनन् खुकुरी Û

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px