मधुपर्क जेठ, २०६९
 
अतिरिक्त समय
- रत्न प्रजापति
 

पि्रन्सिपल चन्द्रप्रकाश जोशी निकै तनावमा थिए । तनावको मुख्य कारण थियो कलेजमा अतिरिक्त समय पढ्ने वातावरण मिलाउँदा पनि रिजल्ट नराम्रो आउनु । यस पटकको परीक्षामा अरूको तुलनामा उसको कलेजको रिजल्ट निकै 'पोर' भएको कुरा उसले अरू कलेजका पि्रन्सिपलसँग गरेपछि थाहा पाएको थियो । विशेषगरी फाइनल सेमेस्टरका विद्यार्थीको इन्टर्नशीपको रिजल्ट झनै खत्तम थियो । अघिल्ला ब्याचका विद्यार्थीहरूको इन्टर्नसिपमा कसैकसैको मात्रै सी ग्रेड आउँथ्यो र धेरैको ए ग्रेड आउँथ्यो भने यसपालि कसैकसैको ए ग्रेड र धेरैको सी ग्रेड आएको थियो । यसकारणले पनि पि्रन्सिपल जोशी तनावमा थिए । साथै कतिपय विद्यार्थीहरू पनि तनावमा थिए । इन्टर्नसिपको ग्रेडकै कारणले आˆनो क्यारियरमै धक्का लाग्ने भएकाले विद्यार्थीहरू चिन्तित थिए ।

तनाव शान्त होला कि भनेर पि्रन्सिपल जोशीले कलेजको एक चक्कर लगाए तर उनको तनाव घट्नुको साटो झन् बढ्यो । धेरैजसो विद्यार्थीहरू पढ्नमा भन्दा खेल्नमा र मनोरञ्जनमा डुबेको देखेर उनको तनाव झन बढ्यो । उनले देख्यो केटाहरू बास्केटबल खेल्नमा मस्त थिए । कत्ति केटा र केटीका जोडीहरू पर कुनातिर बसेर प्रेमलीलामा व्यस्त थिए । कोही क्यान्टिनमा चुरोटको धुवाँ उडाउँदै हिपप म्युजिकको धुनमा मस्त थिए । कोही मोबाइलमा एसएमएस पठाउन र च्याट गर्न व्यस्त थिए । यी सबै अस्तव्यस्त दृश्य देखेर पि्रन्सिपल जोशीले मनमनै सोचे, 'पढ्ने विद्यार्थीहरू यस्ता भएपछि कसरी राम्रो रिजल्ट आउँछ ।'

कलेजको एक चक्कर घुमेर पि्रन्सिपल जोशी पूर्ववत् आˆनै कक्षमा गएर थचक्क कुर्सीमा बसे । उनको गर्‍हुँगो बोझ थाम्न गार्‍हो भएर त्यो कुर्सी एक पटक चुइँय गरेर करायो । कुर्सीको आवाज सुनेर पि्रन्सिपल जोशी आफैँं पनि एक पटक झसङ्ग भए र समालिएर बसे ।

पियन कृष्णले पानी ल्याएर टेबुलमा राखिदियो । उनले त्यो पानी घटघट पिए र लामो सास फेरे । यसो गर्दा उनलाई अलिकति हलुका भएको महसुस भयो ।

उनी सोच्न थाले, अब अभिभावकहरूको चित्त कसरी बुझाउने ? यति महँगो र नाउँ चलेको कलेज भइकन पनि यस्तो नराम्रो रिजल्ट आएकोमा कसलाई दोष दिएर पन्छिने,

ˆयाकल्टीलाई ? विद्यार्थीलाई ? कि कलेज व्यवस्थापनलाई ?

दिनहुँजसो अभिभावकहरूका फोन आइरहेका छन् । अब त झनै बढी आउँछन् । प्रायः सबैजसो अभिभावकको एउटै जिज्ञासा अथवा एउटै चिन्ता हुन्छ कि उनीहरूका केटाकेटीको पढाइ कस्तो भइरहेको छ ? नियमित कलेज आइरहेका छन् कि छैनन् ? घरबाट कलेज जान भनी हिँडेका केटाकेटी अन्तै पो बरालिने गरेका छन् कि ? आन्तरिक तथा वाहृय परीक्षाहरूमा कस्तो गरिरहेका

छन् ? आदिइत्यादि ।

अभिभावकहरूको जिज्ञासा र चिन्ता थाहा पाएर खुसी पनि हुने गर्छन् उनी । हरेक अभिभावकले आˆना केटाकेटीको पढाइ र उसको व्यक्तिगत आचरणका बारेमा अलिअलि चासो र चिन्ता लिनु आवश्यक पनि छ भन्ने ठान्दछन् उनी । यसैगरी केटाकेटीलाई धेरै स्वतन्त्रता अथवा छुट दिंँदा उनीहरू गलत दिशामा जाने सम्भावना हुन्छ भन्ने पनि ठान्दछ ऊ । सही दिशामा भन्दा गलत दिशामा छिटो कदम चाल्ने प्रवृत्ति धेरै बढिसकेको छ अचेलका युवापुस्तामा । विश्वव्यापी बन्दै गएको पश्चिमा संस्कृतिको प्रभावबाट हाम्रा विद्यार्थीहरू पटक्कै अलग छैनन् । विशेषगरी हुँदाखानेका भन्दा सहरी क्षेत्रका हुनेखानेका छोराछोरीहरू पश्चिमा संस्कृतिप्रति धेरै झ्याम्मिएका छन् । त्यसैले पश्चिमाहरूको संस्कृति र सभ्यताबाट हाम्रा युवा विद्यार्थीहरू धेरै नै प्रभावित पनि छन् । उनीहरूकै सिको गरेर पिकनिक, पार्टी, डिस्कोलगायतका गीतसङ्गीतमा झुम्ने र रम्ने बानी हाम्रा विद्यार्थीहरूमा पनि धेरै बढिसकेको छ ।

केही समयअघि उनले अखबारहरूमा पढेका पनि थिए, सहरकै एउटा कलेजका दर्जनौँं विद्यार्थीहरू कलेजकै युनिर्फममा बिहानै एउटा डान्स रेस्टुरेन्टबाट पक्राउ परेका थिए । यसैगरी सहरका विभिन्न कलेजमा पढ्ने छात्राहरू सहरकै विभिन्न मसाज पार्लर र होटलहरूबाट अनैतिक क्रियाकलापमा संलग्न भएकै अवस्थामा पक्राउ परेका थिए । विद्यार्थीहरू यसरी बिगि्ररहेको अवस्थामा अभिभावकहरूले देखाउने चासो र चिन्तालाई उनले स्वाभाविक मानेका छन् ।

हुन त उनको कलेजमा एउटा सिस्टम नै छ विद्यार्थीहरू नियमित कलेज नआएमा, पढाइमा प्रगति गर्न नसकेमा वा आचरण नराम्रो भएमा अभिभावकलाई खबर गर्ने । यति हुँदाहुँदै पनि कतिपय अवस्थामा सबै विद्यार्थीका बारेमा जानकारी लिन र अभिभावकलाई खबर गर्न समय लाग्ने भएकाले जागरुक अभिभावक आफैंँले पनि चासो लिनुपर्छ भन्ने उनको मान्यता पनि छ ।

अस्ति भर्खरै केही विद्यार्थीलाई कारवाही भयो । कसैलाई अनुशासनको कारवाही भयो त कसैलाई नियमित कलेज नआएकोमा र ढिलो आएको कारण बिहानको पहिलो कक्षा छुटाएकामा कारवाही भयो । कारवाहीस्वरूप ती विद्यार्थीहरूले तोकिएका विषयहरूको आन्तरिक परीक्षा दिन नपाउने भए । आन्तरिक परीक्षा दिन नपाउनुको सीधा अर्थ हुन्छ फाइनल परीक्षा पनि दिन नपाउनु । यति कारवाही नै विद्यार्थीका लागि पर्याप्त थियो । तर यति हुँदाहुँदै पनि कत्ति विद्यार्थीहरू सुधि्रएका छैनन् । त्यसैले पि्रन्सिपल जोशी कहिलेकाहीँं रिसाएर भन्ने गर्छन्, 'धनी बाउका बिग्रेका छोराछोरी ।'

कलेजको नियमित कार्यतालिका अनुसार अभिभावक र ˆयाकल्टीको मिटिङ भयो । छलफलका लागि विद्यार्थीहरूलाई पनि बोलाइएको थियो । एउटा अभिभावकले आˆनी छोरीतिर औंँल्याउँदै सोध्यो, 'मेरी छोरीको पढाइ कस्तो छ ?'

पाँचौ सेमेस्टरको क्लास को-अर्डिनेटरसमेत रहेका अर्गनाइजेसनल विहेवियर विषयका ˆयाकल्टी सन्तोष लिम्बूले उक्त विद्यार्थीको परफरमेन्स सिट हेरेर मुख बिगार्दै भन्यो, 'तपाईंको छोरीको पढाइमा ध्यानै छैन ।'

'कता छ त उसको ध्यान ?' अभिभावकले सोध्यो ।

'त्यो त उसैलाई सोध्नुपर्छ ।' ˆयाकल्टीले भन्यो । त्यहाँ उपस्थित विद्यार्थीहरू मुखामुख गर्दै हाँस्न थाले । त्यो छात्राले लाजले हो वा बाबुको डरले हो, टाउको निहुर्‍याई । उसको बाबु रिसले चुर भयो ।

अर्को अभिभावकले भन्यो, 'मेरो छोराको रिजल्ट किन यति पोर ?'

'उसले आˆनो पढाइमा सुधार गर्नै सकेको छैन ?' उसलाई पढाउने एउटा ˆयाकल्टीले भन्यो ।

'अतिरिक्त समय पढाउँदा पनि किन यस्तो ?' अभिभावकले सोध्यो ।

'त्यही कुरा त हामीले पनि बुझ्न सकिरहेका छैनौंँ ।' ˆयाकल्टीले भन्यो ।

त्यसपछि त्यो अभिभावकले आˆनो छोरोतिर हेर्‍यो । उसको छोराले डराउँदै टाउको निहुर्‍यायो । अरू विद्यार्थीहरू पनि डराएजस्ता देखिए । किनभने पालो सबैको आउँदै थियो ।

पि्रन्सिपल जोशी अभिभावक र ˆयाकल्टीबीचको कुराकानी ध्यान दिएर सुनिरहेका थिए । कुरा सुनेर उनलाई छटपटी भइरहेको थियो । अर्को वर्ष कलेजको रिजल्ट अझै तल झर्ने भयो भनेर उनलाई चिन्ता लाग्न थालेको थियो ।

विदेशको सुविधासम्पन्न विश्वविद्यालयमा पढेर आएका हुन् पि्रन्सिपल जोशी । त्यसैले आˆनो कलेजमा पनि पढाइको गुणस्तर कायम राख्न सबै प्रकारका सुविधा र सहुलियत दिनुपर्छ भन्ने मान्यता छ उनको । पठनपाठनका क्रममा चाहिने भौतिक सुविधादेखि विद्यार्थीहरूको मनोरञ्जन र खेलकुदका लागि चाहिने सबै प्रकारका सुविधाहरू उपलब्ध छन् उनको कलेजमा । प|mेसर्स पार्टी वा फेयरवेल पार्टीका लागि पुग्नेगरी प्रशस्त स्पेस भएको सुविधासम्पन्न क्यान्टिन पनि छ उनको कलेजमा । त्यसैले त्यो क्यान्टिनको कुनाकुनामा बसेर विद्यार्थीका जोडीहरूले प्रेम साटासाट गर्ने अवसर पनि सजिलै प्राप्त गरेका छन् । कतिपय अवस्थामा असहज र अपाच्य अवस्थामा पनि देखिने गर्छन् यस्ता प्रेमजोडीहरू तर तिनलाई देखेर पनि नदेखेझैँं गरेर हिँड्नुपर्छ अरूले । त्यस्तो दृश्य देख्दा जोसुकैलाई पनि विदेशकै कलेजमा छु जस्तो लाग्न सक्छ ।

एक दिन पि्रन्सिपल जोशी घुम्दै गरेको अवस्थामा एकजोडी विद्यार्थी त्यस्तैगरी प्रेम साटासाट गरिरहेको अवस्थामा भेटिए । त्यो देखेर पि्रन्सिपल जोशीले झोंँक्किएर भने, 'यो के गरेको ? थाहा छ तिमीहरू अहिले कहाँ छौ ?' प्रेममा लीन जोडी कालोनीलो हुँदै त्यहाँबाट उठेर हिँडे । त्यो दिनदेखि पि्रन्सिपल जोशीले त्यो जोडीमाथि सधैंँ निगरानी राखिरहे तर त्यो दिनदेखि उनीहरू त्यस्तो अवस्थामा कहिल्यै पनि भेटिएनन् । स्मरणीय कुरा के हो भने उनीहरू आˆनो ब्याचका उत्कृष्ट विद्यार्थी हुन् । दुवै जनाले छात्रवृत्ति पनि पाएका छन् । पढाइमा अब्बल विद्यार्थीहरू प्रेममा पनि अब्बल रहेछन् । सम्भवतः यही कारणले पि्रन्सिपल जोशीले उनीहरूमाथि अनुशासनको कारवाही गरिहाल्न चाहेनन् ।

अचेल अभिभावकहरूको एउटै जिज्ञासा सुनिन थालेको छ कि केटाकेटीहरू समयमा घर आउँदैनन् । अचेल फोन गर्ने अभिभावकहरूले यस्तै प्रश्नहरू मात्रै सोध्ने गर्छन् । ती अभिभावकहरूलाई थाहा नभएको हुनसक्छ कि कलेजमा पढाइको गुणस्तर कायम राख्न अतिरिक्त समय पढ्ने वातावरण पनि मिलाइएको छ । त्यसैकारण कलेजमा फुलटाइम ˆयाकल्टीको सङ्ख्या बढाइएको छ र विषयगत टिचिङ असिस्टेन्ट अर्थात् टीएहरू पनि राखिएका छन् । यसले गर्दा जुनसुकै सेमेस्टरका विद्यार्थीहरू बिहान साढे छ बजेदेखि तीन बजेभित्र जुनसुकै समयमा फुलटाइम ˆयाकल्टी अथवा टीएहरूसँग आएर पढ्न सक्छन् वा आफूलाई परेको समस्या समाधान गर्न सक्छन् ।

अतिरिक्त समय पढ्ने र पढाउने गरिएकाले धेरै विद्यार्थीहरू नियमित कक्षाको समयपछि पनि कलेजमा बिताउँछन् तर सबै विद्यार्थीहरू पढ्नकै लागि कलेजमा बिताउँछन् वा अरू कामले अन्तै गएर समय बिताउने र घरमा चाहिँ ढिला पुग्छन् ? यो प्रश्न सोचनीय भएकोतर्फ भने पि्रन्सिपल जोशीले सोचेका थिएनन् । त्यसैले केटाकेटीहरू किन ढिला घर आउँछन् भन्ने अभिभावकहरूको प्रश्नमा पि्रन्सिपल जोशी एउटै उत्तर दिन्थे, 'अचेल कलेजमा पढाइको गुणस्तर कायम राख्न अतिरिक्त समय पढ्ने र पढाउने व्यवस्था गरिएको छ ।' त्यसबाहेक प्रोजेक्ट वर्क, असाइन्मेन्ट र रिपोर्ट राइटिङ र क्लास प्रेजेन्टेसनका लागि कम्प्युटर ल्याब र लाइब्रेरीमा समय बिताउनुपर्ने हुँदा पनि विद्यार्थीहरू घर जान ढिला हुने गरेको कुरा पनि उसले प्रायः सबै अभिभावकलाई सुनाउँथ्यो । हो न हो अभिभावकहरू पत्याइहाल्थे र चुप लाग्थे । फिस नबढाइकनै अतिरिक्त समय पढाउने व्यवस्था गरेकोमा कतिपय अभिभावकहरू पि्रन्सिपल जोशीलाई धन्यवाद पनि दिन्थे । अभिभावकहरूले खुसी भएर धन्यवाद दिएको सुनेर पि्रन्सिपल जोशी राम्रो काम गरेँछु भनेर खुसी हुन्थे ।

यो थियो केही समयअघिको कुरा तर अहिले समयले कोल्टे फेरेको छ । अभिभावकले धन्यवादको साटो धेरैथरि प्रश्न गरेर पि्रन्सिपल जोशीलाई हैरान पार्ने गरेका छन् । त्यसैले पि्रन्सिपल जोशी अहिले पहिलाजस्तो त्यति खुसी छैनन् ।

पि्रन्सिपल जोशीकै अनुकम्पाले कलेजमा पढाइबाहेक बेलाबेलामा हुने बिजिनेस पार्टी, वर्कसप र सेमिनारहरूले गर्दा विद्यार्थीहरूले थप ज्ञान तथा सीप आर्जन गर्ने र रोजगारबजारमा आफूलाई एक्स्पोज गर्ने र सेल गर्ने राम्रो अवसर पनि पाउने गरेका छन् । यसका साथै हरेक वर्ष हुने प|mेसर्स पार्टी, फेयरवेलपार्टी, काउन्सिल डे लगायत कलेजको वाषिर्कोत्सवका अवसरहरूमा पनि विद्यार्थीहरूले भरपुर मनोरञ्जन र आनन्द लिने अवसर पाउँदै आएका छन् । यी अवसरहरू प्रेमजोडीहरूका लागि सुनौला अवसर पनि हुन् । यस्तै अवसरमा तिनले कलेजको कुनै कुनामा बसेर आˆनो इच्छा पूरा गर्ने अवसर पनि प्राप्त गर्दछन् ।

अस्ति भर्खरै कलेजमा फेयरवेल पार्टी भएको थियो । विद्यार्थीहरूले बिहानदेखि राति अबेरसम्म विभिन्न कार्यक्रम र नाचगान गरेका थिए । त्यसको भोलिपल्ट बिहानै एक हूल विद्यार्थी पि्रन्सिपलकहाँ गएर रिपोर्ट गरे पार्टीमा केही असहज क्रियाकलाप भयो भनेर । पि्रन्सिपलले जङ्गिएर सोधे, 'के भयो पार्टीमा ? रक्सी पिएर झगडा गरे ?'

'झगडा होइन सर...।' विद्यार्थीहरूले एकै स्वरमा भने ।

'त्यसोभए के भयो त ?' पि्रन्सिपल जोशी फेरि जङ्गिए ।

केही विद्यार्थीले अलिअलि लजाएर भने, 'टङ किस, बडी टचिङ.... केके हो केके ।'

'कसले गर्‍यो त्यस्तो ?' पि्रन्सिपल जोशीले अलिकति संयमित भएर सोधे ।

विद्यार्थीहरू मुखामुख गर्न थाले, कोही बोलेनन् । त्यसपछि पि्रन्सिपल आफैंँले भने, 'ल ठीक छ, मुखले बोल्न गार्‍हो छ भने लेखेर देऊ । म तिनीहरूलाई सस्पेन्ड गरिदिन्छु ।'

पार्टीमा असहज क्रियाकलाप गर्नेहरूको नाउँ लेखेर विद्यार्थीहरू गए । नाउँ हेर्दै पि्रन्सिपल जोशीले टाउको हल्लाए र मनमनै भने, 'ए, तिमीहरू हौ त्यस्तो गर्ने ? अब थाहा पाउँछौ तिमीहरूले ।'

पि्रन्सिपल जोशीले तुरुन्तै ˆयाकल्टी मिटिङ राखेर त्यस्तो असहज क्रियाकलाप गर्ने तीन जोडी विद्यार्थीलाई सस्पेन्ड गरिदिए । विद्यार्थीहरूले माफी माग्दै थिए तर पि्रन्सिपल जोशी आˆनो निर्णयमा अडिग रहे ।

त्यसपछि विद्यार्थीहरू केही अनुशासित देखिए । पि्रन्सिपल जोशी आफैंँ पनि कलेज तथा क्यान्टिनमा घुमेर विद्यार्थीहरूको क्रियाकलाप निरीक्षण गर्न थाले । हातमा किताब लिएर कलेजको कुनाकुनामा टाँस्सिएर बस्ने केटाकेटीहरू सचेत हुन थाले । अबेरसम्म कक्षाकोठामा बसेर पढ्ने विद्यार्थीहरूमाथि पनि निगरानी हुनथाल्यो ।

तर त्यो निगरानी पनि फेल खायो । अतिरिक्त समयको चरम दुरूपयोगको एउटा नमूना यस्तो थियो ।

क्लिनर वसन्तीले शौचालय सफा गर्ने क्रममा कमोडभित्र पानीमा तैरिरहेको दुई वटा प्रयोग गरिएका कन्डम देखी र यो खबर तुरुन्त पि्रन्सिपल जोशीसमक्ष पुर्‍याई, 'सर, कलेजको पुरुष शौचालयमा दुई वटा खोल भेटियो ।'

'केको खोल ?' पि्रन्सिपल जोशीले कुरा नबुझेर सोधे ।

क्लिनर वसन्तीले लजाएर भनी, 'खोल क्या सर.. ,।'

पि्रन्सिपल जोशीले बल्ल कुरा बुझ्यो र भन्यो , 'ए... ।'

खबर सुनेर पि्रन्सिपल जोशी एकछिन् अवाक भए । त्यसपछि तुरुन्तै ˆयाकल्टी र टीएहरूलाई बोलाएर पि्रन्सिपल जोशीले आˆनो निर्णय सुनाए, 'अबदेखि अतिरिक्त समय पठनपाठन बन्द । दुई बज ेपछाडि कुनै पनि विद्यार्थीलाई कलेज परिसरमा बस्न नदिनू ।'

अकस्मात पि्रन्सिपल जोशीको यस्तो निर्णय सुनेर सबै ˆयाकल्टी तथा टीएहरू अचम्ममा परे । उनीहरूले केही बुझेनन् किन अकस्मात् यस्तो निर्णय लिइयो भनेर ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px