२० मे कायरो भ्रमणको पहिलो दिन । अधिल्लो दिन राति मात्र कायरो आइपुगेका थियौँ मित्र सुरेन्द्र मैनाली र म । कायरो एअरपोर्टदेखि होटलसम्मको यात्रामा नै कायरोको भव्यताको आँकलन गरिसकेका थियौँ हामीले । सहरको झिलिमिलीले हामी दुबैलाई अनौठो आनन्द मिलेको थियो । यद्यपि हामीलाई कायरोको आधुनिकताभन्दा त्यहाँको प्राचीन पिरापीडहरू हेर्ने उत्सुकताले कुत्कुत्याएर ल्याएको थियो कायरो ।
बिहानै सातै बजे होटेलको अगाडि आइपुग्यो डिलक्स ट्राभल्सको गाडी । हामी पनि ब्रेकफास्ट सकेर होटलको लवीमा पुगिसकेका थियौँ । एउटा हसिलो, फूर्तिलो लक्काजवान गाडीबाट ओर्लेर सरासर हामी नजिक आई अभिवादन गर्यो । लवीमा नै सामान्य परिचय भयो । ऊ हामीलाई आज दिनभर पिरामीड क्षेत्र घुमाउन गाइडको रूपमा खटिएको रहेछ । पिरामीड हेर्ने रहर बोकेका हामी हतारिँदै गाडीभित्र पस्यौँ । हाम्रोलागि मात्र पठाइएको रहेछ त्यो गाडी पनि ।
कायरोको चिल्लो सडकमा कुद्न थाल्यो गाडी । कुराकानी गर्दै जाँदा थाहा भयो २९ वर्षे अहमद अझै अविवाहित नै रहेछ । कायरोमा कोठा भाडामा लिएर बसेको उसले गाइड पेशा अँगालेको ७ वर्ष भैसकेछ । अङ्ग्रेजी बोल्न जान्नेहरूका लागि राम्रै कमाइ हुँदोरहेछ इजिप्टमा । गाडीको गतिसँगै हामीलाई सहरका बारेमा बताउँदै थियो अहमद । केहीबेरको कुदाइपछि सहरका घरहरू हामीसँग टाढा हुँदै थिए । सहरसंँगै रहेको खेतीयोग्य जमिन हाम्रा आँखामा टासिइसकेको थियो । कुराकानी गर्दै जाँदा हामीबीच एउटा नजानिँदो किसिमले निकटता बढेको थियो । निकै फरासिलो र मायालु रहेछ अहमद ।
"२९ वर्षसम्म पनि किन बिहे नगरेको तिमीले ? बिहेपछिको रमाइलो त साहै्र सम्झनायोग्य पो हुन्छ त अहमद" मैले उसको निजी कुरा बुझ्ने अभिप्रायले प्रश्न तेस्र्याएँ ।
"बिहेपछि समस्या आउँछ, अहिल्यै त्यो समस्या किन बोक्ने
सर Û" उसले हाँसेर जवाफ फर्कायो ।
"कसले भन्यो तिमीलाई ? खै हामी दुवै विवाहित हाँ, हामीलाई त कुनै पनि समस्या छैन त Û" मैले फेरि प्रत्युत्तर लगाएँ ।
"सर Û हाम्रो देशमा बिहे गर्न अलि गाह्रो छ । मेरो त कायरोमा घर पनि छैन, फेरि बिहेका लागि खर्च पनि त चाहियो ।" उसले बोल्यो ।
"उसो भए कहिल्यै पनि बिहे नगर्ने त ?" म फेरि बोलेँ ।
"गर्ने, तर दुईचार वर्षपछि गर्ने ।" उसले जवाफ फर्कायो ।
"दुई/चार वर्षपछि गर्दा चाहिँ समस्या हुँदैन त ?" सुरेन्द्रले कुरो खोतल्ने प्रयास गर्यो ।
"त्यो बेलाको कुरा देखाजाला ।" ढुक्कसंँग बोल्यो ऊ ।
"तिमीसंँग केटी साथी छ कि क्या हो ?" मैले फेरि कोट्याएँ उसलाई ।
"छैन ।" छोटो उत्तर दियो ।
"तिमी त गाइड मान्छे, कति विदेशी केटीहरू पनि आइरहन्छन् सम्बन्ध त बन्यो होला नि ?" मैले जिस्क्याएँ ।
"हाम्रो धर्ममा अरूसंँग सम्बन्ध राख्ने अनुमति छैन सर ।" ऊ मुस्कुराउँदै बोल्यो ।
"लुकेर त हुन्छ होला नि ।" मैले अझै थप्न खोजेँ ।
"लुके पनि अल्लाहले देखिहाल्छन् नि Û" उसले हाँसेर फर्कायो ।
"उसो भए यहाँका मान्छेहरू अरू केटीहरूसंँग सम्बन्ध राख्दै राख्दैनन् त ?" मैले अझै प्रश्न तेस्र्याएँ ।
ऊ केहीबेर रोकियो र असजिलो मानेजस्तो गर्यो ।
"सर Û अब हामी छिट्टै पुग्छौँ गिँजा, यी फाँटहरू खेतीयोग्य जमिन भएकोले यसमा घर बनाउने अनुमति छैन ।" मेरो प्रश्नबाट उम्कने दाउले उसले कुरालाई अन्तै मोड्यो । मलाई पनि बढी च्याप्न मन लागेन ।
कायरोबाट पिरामीड क्षेत्रसम्म पुग्ने बाटोमा देखिएको हरियाली र विभिन्न उन्नत किसिमको बालीनाली देखेर मलाई एउटा छुट्टै अनुभूति भइरहेको थियो । बाटोमा छ्याप्छ्याप्ती भेटिन्थे ट्राभल्सका टुरिस्ट बोक्ने गाडीहरू । ती गाडीहरूको भीडले कायरोले पर्यटकबाट गर्ने आम्दानीको अनुमान लगाउन गाह्रो थिएन । पिरामीडका कारण कायरोको मुख्य आय पर्यटन नै होला भन्ने मेरो सोचलाई अहमदले गलत सावित गरिदियो । उसको कुराले मलाई ठूलो झट्का दियो ।
इजिप्टको मुख्य आयस्रोत सिंँचाइ र दोस्रोमा मात्र पर्दोरहेछ पर्यटन । नाइल नदीको पानीलाई नहर बनाइ कृषकलाई बाँडेवापत आउने रकम नै सबैभन्दा ठूलो राष्ट्रिय आम्दानी रहेछ Û योजना र इच्छाशक्ति भए गर्न नसकिने के रहेछ । इजिप्टका लागि एउटा नाइल वरदान बनेर देखापरेको छ तर हामीसँग सयौँ खोला र नदीहरू छन् तर सिंँचाइ नभएर जमिन बाँझै हुन्छ । सरकारमा बसेकाहरूले यी नदीहरूलाई कहिल्यै योजनाबद्ध ढङ्गले विकासमा लगाउने सोच बनाउनै सकेनन् । कृषिलाई प्राथमिकतामा राखेको भाषणहरू गरे त किसानहरूलाई सुविधा दिएर उन्नत खेतीतर्फ आकषिर्त गर्ने योजना ल्याउन सकेनन् । बरू राम्रो फाँट देख्नासाथै १० फिटे र १२ फिटे बाटो लगेर चिराचिरा पारी घडेरी बेचेर पैसा कमाउने मेसो मिलाइदिए । विना योजना जता मनलाग्यो त्यतै घर बनाउने इजाजत दिएर सहरलाई कुरूप र अव्यवस्थित बनाउने काममा मौन सहमति दिए । सहरलाई बचाएर सुन्दर र आत्मनिर्भर बनाउने सोच कसैको रहेन ।
योजना भनेको वस्ती नबन्दै बनाउन सक्नु पर्नेरहेछ । सरकारले योजना बनाएर कार्यान्वयन गरे नहुने के रहेछ भन्ने राम्रो उदाहरण हो कायरो । पिरामीड पुग्नुभन्दा अगावै मलाई कायरोको जमिन व्यवस्थापनले ठूलो प्रभाव पारिसकेको थियो । म भित्रभित्रै कायरोसंँग आत्मीय बनिसकेको थिएँ ।
साढे आठबजे गिजास्थित पिरामीडको गेटमा पुगरे रोकियो गाडी । टाढैबाट पिरामीडको भव्यता देखेर मेरो मन कृतकृत्य भैसकेको थियो । तर पनि पिरामीडलाई छोएर धोको पूरा गर्ने लालसा बाँकी नै थियो । जुन पूरा हुन अब केही मिनेट मात्र बाँकी थियो । मित्र सुरेन्द्र मैनालीले पिरामीडलाई हेर्दा उनको अनुहारमा कोरिएको कुतूहलको उज्याला रेखाहरूले म उत्तेजित बनिरहेको थिएँ । अहमदले टिकट काटेपछि हामीले प्रवेशका लागि अनुमति पायौँ ।
गेट प्रवेश गर्नासाथै अहमदले सामान बेच्न आउनेहरू र स्थानीय व्यक्तिहरूसंँग सचेत रहन सुझायो । उसको कुरालाई दिमागको कुनै कुनामा थन्क्याएर हामी पिरामीडतर्फ बढ्यौँं । चारैतर्फ खुला मरूभूमिको बीचमा उभिएको भीमकाय पिरामीडको विरासतताले एकैछिन अत्तालिएँ म । जता हेर्यो त्यतै पिरामीड नै पिरामीड देखेपछि एकैछिन पिरामीडहरूको हूलमा हराएँ म । मेरो मस्तिष्कमा पिरामीडबाहेक अरू केही रहेन । त्यो आश्चर्यलाई कताबाट कसरी हेरौँ र केके खिचौंँ भनेर हतारियौँ हामी । लहरै रहेका तीनवटा अजङ्गको पिरामीडहरूमध्ये सबभन्दा ठूलो खूफू ९प्जगाग० पिरामीड वरपर मान्छेको भीड थामिनसक्नुको थियो । सबै पर्यटकहरूका आँखामा एक किसिमको उत्तेजना स्पष्ट देखिन्थ्यो । सबैको हातमा क्यामरा झुण्डिएका थिए र सबै आ-आˆनो फोटो क्यामेरामा कैद गर्न ब्यस्त थिए ।
पिरामीड हेर्नेक्रममा सामान बेच्न आउनेहरूको भीड छल्दै हिँड्नुपर्यो हामीलाई । अहमदको कुराले हामी सचेत थियौँं । त्यसैले सबैलाई मुस्कुराएर टार्दै हिँड्यौँ । कतिपय अवस्थामा उनीहरूसँग बच्न मुस्किलै हुँदोरहेछ । केही पर्यटकहरूसंँग झगडा गरिरहेका पनि भेटिन्थे । पहिला त्यसै लिनुहोस् भन्दारहेछ र अर्को बेच्दा रहेछन् । किन्दिन भन्यो भने यो त्यसै दिएको किन लिइस् त भनेर त्यसैबाट झगडा गरी जवर्जस्ती बेच्ने प्रयत्न गर्दारहेछन् । हरेक कुरा सोधेपछि लिनैपर्छ भन्ने मान्यता बोकेका व्यापारीहरूदेखि मलाई भने डर मात्र लागिरहृयो । हुन त त्यहाँ सबै त्यस्ता छैनन् होला तर सुरूमा नै परेको छापले गर्दा इमान्दारहरूलाई पनि बेइमान देखिरहेको थियो मेरो आँखाले ।
जहाँ जे समस्या देखे पनि मुच्र्छा परेर हाँस्ने सुरेन्द्रको बानीले यात्रालाई निकै रोमाञ्चक बनाएको थियो । देख्दा हलुका देखिए पनि मन भित्रबाट निकै संवेदनशील रहेछन् उनी । पिरामीड घुमाइका क्रममा पनि पटकपटक परिवार सम्भिmए उनले । पटकपटक देशका बारेमा चिन्ता प्रकट गरे उनले । मैले चाहिँ कुराहरूलाई मनमै राखेँ ।
वास्तवमा इजिप्टलाई त्यसै पिरामीडहरूको देश भनिएको होइन रहेछ । हालसम्म १३८ वटा पिरामीडहरू पत्ता लागिसकेका र जसमध्ये ११८ वटा उत्खनन् भइसकेका रहेछन् र अझै कतिको खोजी हुँदै रहेछ । सबै पिरामीडहरूमध्येको सबैभन्दा ठूलो तीनवटा पिरामीड चाहिँ गिँजा भन्ने ठाउँमा रहेछन् र विश्वभरका मान्छेहरूका लागि मुख्य आकर्षण भनेको नै यही गिँजा क्षेत्र रहेछ । विश्वका आश्चर्यहरूमध्येको एक यस पिरामीडलाई देखेपछि आश्चर्यचकित नहुने मान्छे सायदै होलान् । यसको बनोट र शैलीलाई हेर्दा प्रविधिले चमत्कारिक फड्को मारिसकेको आजको विश्वका मान्छेलाई पनि यस्तो पिरामीड बनाउन हम्मेहम्मे पर्छ भनेर ठोकुवा गर्न सजिलै सकिन्छ । कुनै अत्याधुनिक प्रविधिको विकास नभएको त्यो युगमा यति ठूला र गह्रुँङ्गा ढुङ्गाहरूको यो कलात्मक निर्माण कसरी सम्भव भयो होला भन्ने कुराको अनुमान लगाउन सकिरहेको छैन म । म यी दुर्लभ र अविश्वनीय पिरामीड बनाउने शिल्पीहरूप्रति नतमस्तक बनेर उनीहरूलाई सम्मानले सलाम गरिरहेछु ।
पिरामीडको सबैभन्दा तलको लहरमा रहेको एउटै ढुङ्गा २.५ टन अर्थात् दुई हजार पाँच सय किलोका रहेछन् । हरेक तहमा एउटै साइजका ढुङ्गाहरूको लहरले पिरामीडलाई अति सुन्दर बनाएको थियो । पिरामीडभित्र निर्माण गरिएका ठूलाठूला कोठाहरू, कोठाभित्र रहेको प्राकृतिक वातानुकूलित अवस्था निर्माण गर्न लगाउनेको सोच, निर्माण गर्नेहरूको धैर्यता र साहस आदि सबैसबै कुराहरूले पिरामीडलाई अरूभन्दा अलगरूपमा उभ्याएको स्पष्ट देखिन्छ । राजा- महाराजाहरूको लाश राख्ने प्रयोजनका लागि ढुङ्गाको मात्र प्रयोग गरी बनाइएका यी पिरामीडहरूले तत्कालीन शासकहरूको शोखको पराकाष्टालाई प्रतिविम्वित गरिरहेको थियो । जुन आफैँमा आश्चर्यजनक र अविश्वसनीय लाग्छ र पिरामीडका बारेमा जसरी सोच्दा पनि आश्चर्यभन्दा अरू केही देखिँदै देखिँदैन ।
गिँजामा रहेका सबैभन्दा ठूला पिरामीड खूफूलाई ग्रेट पिरामीड भनेर पनि भनिदोरहेछ । ग्रेट पिरामीडसँगै रहेका अर्का दुई पिरामीडको नाम खाप|mे ९प्जबाचभ० र मेनकाउरे ९ःभलपबगचभ० रहेछ । तीनको वरपर रहेका हाम्रा मठजस्ता धेरै सानासाना तीनवटा पिरामीडलाई क्वीन्स पिरामीड भनिदो रहेछ । यसको विराटता, विशालता र दुर्लभताकै कारण यो निरन्तर विश्वका सातौं आश्चर्यहरूको सूचीमा निरन्तररूपमा रहिरहन सफल भएको तथ्य वास्तविक लाग्छ । पिरामीडको अवलोकनपछि म विश्वासका साथ भन्न सक्छु, विश्वका आश्चर्यहरूको पनि आश्चर्य हुन् यी पिरामीडहरू ।
दिनभरिको पिरामीडक्षेत्र घुमाइले पनि पिरामीडलाई हेर्ने भोक मेटिएको थिएन । कुनै शृङ्गार विना मरूभूमिको बीचमा उभिएका पिरामीडहरूसंँग एउटा अनौठो आकर्षण र एउटा अद्भूत शक्ति थियो पर्यटकहरूलाई मोहित पारेर राखिरहने । म पनि त्यही शक्तिमा लुटपुटिएको थिएँ । पिरामीडलाई जमिनबाट हेरेर धोको नपुगी हामी उ"mट चढेर घुम्ने निधोमा पुग्यौँ । पिरामीड नजिकै रहेका उ"mटका धनीहरू तछाड र मछाड गर्दै आए हाम्रासामु । एक/एकवटा उ"mट चढेर अगाडि बढ्यौँ । ऊँट त चढियो तर दुईचार पाइला हिँडेपछि मलाई उ"mटको यात्रा मन परेन । त्यत्ति आरामदायी नहुँदोरहेछ उ"mटको यात्रा । लामालामा पाइलाको लस्काइसँगै शरीर हल्लँदा एक किसिमको अˆठ्यारो महसुस गरेँ मैले । उ"mटको ढाडमाथि बसेर त्यो अप्ठ्यारोप्रति हामी दुवैजना हाँस्यौँ मस्तसंँग । यो पनि एउटा रमाइलै अनुभव रहृयो । दस मिनेटको यात्रापछि दस/दस डलर बुझायौँ ऊँट धनीलाई । पिरामीडले सबैको पेट पालिदिएको छ । सबै कमाउ धन्दामा पोख्त रहेछन् ।
दिउँसोको पिरामीड घुमाइ सकिएपछि अहमदले हामीलाई रातिको पिरामीड हेर्न लैजाने जानकारी दियो । त्यो महान् पिरामीडलाई राति पनि हेर्ने निधो गरेेर ३५/३५ डलरको टिकट काट्यौँ हामीले ।
साँझतिर हामी पिरामीडको पूर्वतर्फ बनाइएको खुला स्टेजतर्फ लाग्यौँ । स्टेजकै अगाडि पट्टकिो खाली जमिनमा इजिप्टको नामसँगै जोडिएर आउने भीमकाय मूर्ति रहेछ । पूर्वतर्फ अनुहार पारेर बसेको घाटीदेखि तल सिंहको शरीर र टाउको मात्र मान्छेको रहेको सो मूर्ति आफैँमा आश्चर्यजनक र अकल्पनीय थियो । सिंहको शरीरमा मान्छेको टाउको रहेको सो साङ्केतिक मूर्ति एउटा अद्भूत नमुना थियो । स्पिmन्क्स ९क्उजष्लह० भनिदोरहेछ यो मूर्तिलाई । तत्कालीन सम्राटहरूलाई अत्यन्त शक्तिशाली देखाउन बनाइएको रहेछ मान्छेको टाउकोमा सिंहको शरीर । अहमदको कुराले त्यो मूर्तिप्रतिको मेरो खुल्दुली तत्कालै मेटियो ।
अँध्यारो हुँदै गएपछि पर्यटकको भीड बढ्न थाल्यो खुला स्टेजमा । हामी पनि आˆनो सिटमा बस्यौँ । अँध्यारोलाई चिर्दै विभिन्न कोणबाट फालिएका विभिन्न रङहरूका प्रकाशहरूले पिरामीडहरू नवदुलहीजस्तै देखिन थाले । पिरामीडलाई लाइट र साउन्डको इफेक्टबाट प्रचार गरी पर्यटकहरूलाई आकषिर्त गर्ने नयाँ तरिका रहेछ त्यो । एकै छिनमा त्यो रङहीन बालुवाहरूमा अनेकौँ रङ्गीन आकृतिहरू बन्न थाले । आवाजबाट इजिप्टको इतिहासका विभिन्न पाटोहरूको वर्णन गर्न थालियो । स्पिmन्क्स नजिकैको भित्तामा देखिन थाले प्राचीन इजिप्टको इतिहासका झलकहरू । हामी अनौठो मानेर चुपचाप हेरिरहृयौं पिरामीडका विभिन्न रङहरू र विशेष झलकहरू । दिउँसो आफैँले हेरेर, छामेर र भित्र छिरेर आएको त्यही पिरामीड अर्कै हुनकी जस्तो महसुस भइरहेको थियो हामीलाई । दिउँसो पिरामीडको विराटताबाट आश्चर्यचकित भएका हामी रातिको प्रकाशमा देखिएको पिरामीडको सुन्दरतादेखि मोहित भइरहेका थियौँ । आखिर मान्छेले मनबाट गर्न चाहने हो भने नसकिने भन्ने कुरा केही रहेनछ । प्राचीनकालको इतिहासलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी छुट्टै ढङ्गले गरिएको प्रचार प्रसारबाट पर्यटकमा पिरामीडप्रतिको आकर्षण निकै बढाएको थियो । पिरामीडलाई त्यहाँको पर्यटन क्षेत्रले दिएको प्राथमिकता र पर्यटक आकषिर्त गर्ने विभिन्न कलात्मक प्रस्तुतिहरूले गर्दा नै कायरोमा पर्यटकको भीड बढेको कुरा स्पष्ट नै थियो । प्राचिन इतिहासको अद्भूत प्रतिमा र वर्तमान विश्वको प्रविधि विकासको नमूनाको रूपमा रहेको कायरो सहरमा अवस्थित पिरामीडहरूको अवलोकन पछि मलाई मेरो देशको प्राचीन कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई बचाउन र यसलाई विश्वसामु प्रस्तुत गर्ने विषयमा हामी धेरैपछि परेका हौंँ कि भन्ने लागिरहेको छ । पिरामीडमा देखिएको पर्यटकहरूको भिडलाई वसन्तपुर र पचपन्न झ्याले दरबारको प्राङ्गणमा कसरी खिच्ने भन्ने पिरले सताइरहेको छ । मलाई काठमाडाँैका सडकहरूमाथिको अर्को आकाशे सडकमा मोटरहरू कुदेको हेर्ने सपना पाकिरहेको छ । मभित्र काठमाडाँै वरपर रहेका खाली र खेतीयोग्य जमिनलाई घरहरूको आक्रमणबाट जोगाएर हरियो बनाउने धोको पलाएको छ । तर मेरो इच्छा, सपना र चिन्ताले केही हुनेवाला छैन । मेरो योजना र चिन्तनको पनि कुनै मूल्य छैन । यी सबै कुराहरू गर्न सक्ने अधिकार र हैसियत पनि मसँग छैन । मसँग छन् त केवल मेरो देशको लागि शुभकामनाहरू छन् । यद्यपि मलाई मेरो देशको भलो चिताउन भने कसैले रोक्न सक्ने छैन । मेरो देशलाई माया गर्न कसैले रोक्न सक्ने छैन ।
मभित्र झीनो आशा भने बाँकी नै छ । कुनै दिन मेरो देश पनि कायरोजस्तै सम्पन्न हुने छ । पर्यटकहरूले खचाखच भरिने छन् काठमाडाँैका सडक र गल्लीहरू । मुलुक चलाउनेहरूमा सद्वुद्धि पलाउने छ । उनीहरूको मुटुमा निष्ठा, इमान्दारीता र देशप्रेम गाढा बनेर आउने छ र उनीहरू मुलुकका लागि व्यक्तिगत स्वार्थ त्यागी नयाँनयाँ योजनाहरू ल्याउन लागिपर्नेछन् । मुलुक निश्चित पद्धतिमा चल्नेछ । नेपालीहरूको मुहारमा सम्पन्नता र सदभावको खुसी छचल्किने छ । त्यसदिन म इजिप्टको विकास र इतिहासलाई भुलेर मेरो देशको कथा भन्दै हिड्नेछु । देशसँगै म पनि खुसीले मात्तिने छु । मलाई थाहा छैन त्यो दिन देख्नका लागि मैले अझै कति समय कुर्नुपर्ने हो । यतिखेर म देशको चिन्ता बोकेर कायरोको सपनामा डुबिरहेको छु । पिरामीडको विशालतामा हराइरहेको छु ।