मधुपर्क, २०६६ कात्तिक
 
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
बैरागी काइँला
 

देवकोटाको शतवाषिर्की समारोह उत्साहपूर्वक देशमा मनाइँदै छ । विश्वमा नेपालीलाई चिनाउने श्रद्धेय कवि हुन् देवकोटा । असङ्ख्य कृतिहरूका स्रष्टा, अद्वित्तीय काव्यप्रतिभाका धनी प्रकृति र विद्रोहका कवि महाकवि देवकोटा हाम्रा गौरव हुन् ।

सघन तिमिस्रा चिरेर अघि बढ्ने झञ्झावीर कवि मुक्ति, प्रजातन्त्र अनि सिर्जना, विद्रोह र क्रान्तिका कवि पनि हुन् भनेर समालोचक -अभि सुवेदी)हरू भन्दछन् । शोषण, दमन र गरिबीको पीडा दालभात र डुकुमा देख्ने र पाठकका लागि पस्कने कविले सामाजिक वैषम्य लिमिट्यान्न पार्नु चर्को आवाज बुलन्द मात्र गरेनन् तर कवितामा मानवीय वेदना पनि प्रगाढरूपमा अभिव्यक्त गरेका छन् । त्यसरी महकाकविले देशको माटो र प्रकृतिको पूजा गरेर कविता लेखे । भौगोलिकतामा सानो नेपाल तर सुन्दर, शान्त र विशाल देख्ने उनी सत् छ सुन्दरै, सुन्दरै छ सत्का दार्शनिक कवि थिए ।

उनका कृतिमा तर मुनामदन उनको लोकपि्रय कृति रह्यो छापिएदेखि आजसम्म नै । के पाठक र समालोचकहरूले भनेझैँ सरल र बोधगम्य भाषामा भएर मात्र त्यसो भयो होला त ? सरल भएर र बोधगम्य हुनु सबैको पहुँचभित्रको हुनु पनि हो । थर सबैको लागि हुनलाई त उनकै कुरा उनकै भाषामा उनीहरूसित नै संवाद गरेको भएर लेखिनु पर्दछ । हो, मानिसहरू आफ्नो कुरा सुन्न चाहन्छन् । महाकविको लोकपि्रय काव्य मुनामदनले पाठकलाई उनकै सुखदुःखका गीत गाएर सुनायो र रुवायो आजसम्म नै तर मुनामदनबाहेकका उनका काव्यहरू छिचोल्नु फलामको चिउरा चपाउनु हो भनेर समालोचकहरूको ठहर छ । यति हुँदाहुँदै पनि उनका महाकाव्य, काव्य र कविताले पाठकहरूलाई रन्थनाउँदै भए पनि मोहित पारेर वशिभूत गर्दछन् । त्यसरी नै देवकोटाको गद्यको आˆनै कोमल रूप छ । किन हो मलाई उनका निबन्धहरूको यही कोमल र काव्यात्मक गद्यले औधि रुवाउँदछ । उनको निबन्धको कमलो गद्य पढिरहँदा भने मनतातो पानीको काव्य-तलाउमा पौडी खेलिरहेको चरम आनन्द र एकतमासको वेदनाको अनुभूति गराउँछ । त्यसो त महाकवि आफैले आफ्नो गद्यका बारेमा भूमिका -लक्ष्मी निबन्ध सङ्ग्रह) मा "मर्द गद्य लेख्ने अरूहरू आउनेछन् तर यहाँ सायद पोथी गुण होला..........जो बौद्धिक शक्तिहरूसँगभन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्दछ ।" यही कोमल गद्यको भाषालाई महाकवि देवकोटाको पोथी गद्य भनेर अर्का एक प्रख्यात समालोचक इन्द्रबहादुर राईले -उदय, मई, १९६३) लेखेका छन् ।

छोटो आयुमा असङ्ख्य र उत्कृष्ट कृतिहरू लेखेर नेपाली साहित्यलाई समृद्ध बनाउने यस्ता सततः सिर्जनशील स्रष्टा संसारमा विरलै पाइन्छन् । उनी नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउने कवि देवकोटा आफै भने समृद्धिबाट धेरै टाढा थिए तर मानिसका रूपमा सरल र सहज मानिस थिए भनेर उनका नजिकका मानिसहरू सम्झना गर्दछन् । आफ्नो जीवन कालमा नै देवकोटा कविका रूपमा मिथक बनिसकेका थिए । मिथक हुनु भनेको उत्कृष्ट र अजरअमर कृतिको सिर्जना मात्र होइन तर ती कृति लेख्ने स्रष्टा र उसको समग्र जीवन नै पनि लोकको भइसक्नु हो ।

देवकोटाको शतवाषिर्कको यो उत्सवका बेला तर किन राज्यपक्ष भने उदासिन छ ? देवकोटाका गणेश भनिने श्यामदास वैष्णवसँग धेरै पाठकले देवकोटाको बहुप्रतिभाशाली व्यक्तित्वको राष्ट्रले कदर गर्न नजानेको/नसकेकोमा दुखेसो व्यक्त गरेको सम्झनाहरू छन् । छिमेकी मुलुक -भारत र चीन) माझैं यस्ता राष्ट्रको मर्यादा र गरिमा वृद्धि गर्ने साधक र स्रष्टाको कदर गर्न नेपालीले जानेनन् ।

चाइना फेडेरेसन अफ लिटरेरी एण्ड आर्ट सर्कलको निम्तोमा तत्कालीन नेराप्रप्रको प्रतिनिधि मण्डलको सदस्यका रूपमा यहाँ मलाई जूलाई १९९३ मा आफूले गरेको देास्रोपटकको चीन भ्रमणको बेला स्रष्टाहरूको सम्म्ाान भएको देखेको सम्झना आयो ।

चीन भ्रमणको क्रममा तिब्बतबाट छेन्दु सहरमा प्रवेश गर्दा अल्गाअल्गा खाँबाहरूमा 'तु फुको सहर तपाईंको स्वागत गर्दछ' भनेर जताततै टाङ्गिएका थिए सुन्दर पोष्टरहरू । जागिरको सिलसिलामा त्यहाँ पुगेका उनको स्मारकस्थल ठूलै परिसरमा स्थापित गरिएको रहेछ । पछि हाङचाउ सहर पुग्दा पनि हामीलाई ल्हु सुनको घर देखाउन निकै टाढा लगियो । उनको घर, चुल्होचौका, लेखपढ गर्ने कोठा, शयनकक्षहरू र घरको परिसर राम्ररी सजाइएको पाएर मलाई गौरवान्वित भएको अनुभूतिले भावुक बनायो ।

हामीले ता २० जूलाई अपरान्ह २ः३० बजे कवि कु मो रोको स्मारक अवलोकन गर्ने मौका पायौँ । प्राचीन लिपिका विशेषज्ञ, विदेशी साहित्यको पनि ज्ञाता, उपन्यासकार, समालोचक, निबन्धकार, अनुवादक, कु मो रोको आफनै निवासस्थलमा धूपीका बोटहरूको बीचमा चउरमा अग्लो आधारमा बसिरहेको काङस्य प्रतिमा राखिएको कु मो रोकोे स्मारक भवन रहेछ । भुइँमा हरिया दुबो, बाटाका किनारमा फूलहरू र धूपी, साइप्रस, यिङसिङका हरिया वृक्षहरू तथा फूलहरूले सज्जित सुन्दर र हरियाली पूर्ण वातावरणमा यो स्मारक क्षेत्र शान्त, सौम्य र मनमोहक लाग्छ । उनको मृत्युपछि उनको र यस वरिपरिका क्षेत्रलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षित गरिएको रहेछ ।

कु मो रोको हस्तलिखित पाण्डुलिपि, उनले लेखेका चित्रात्मक लिपि लेखहरू, छापिएका सबै पुस्तकहरू, उनका जीवनीका सिलसिलेवार घटना विवरण यहाँका विभिन्न कक्षमा सुरक्षित छन् । यौटा कोठामा थुप्रै दराजहरू र यौटा ठूलो काठको बाकसभित्र स्व. कु मो रोको हस्तलिखित धेरै प्राचीन र पुरातात्विक महìवका कागत पत्रहरू, प्राचीन चिनियाँ लिपिबारेका लेखहरू अनेक पाण्डुलिपिहरू सुरक्षित राखिएका छन् भन्ने जानकारी स्या मः ईले हामीलाई दिनुभयो । स्या मः ई भनेको कु मो रोकै कान्छी छोरी गो लिङ चिङ रहिछन् जसले हामीलाई स्मारक क्षेत्रभित्र प्रवेश गर्दा स्वागत गर्नुभएको थियो । कु मो रोको सुत्ने कोठा, ओछयान र लगाउने चप्पलहरू, उनले आउने-जाने मान्छेलाई भेट्ने कोठा र आगन्तुकलाई भेट्दा आफू बस्ने ठाउँ कुर्सीहरू, सबै यथावत् सुरक्षित छन् । राष्ट्रिय विभूतिको सम्मान योभन्दा ठूलो अरू के हुनसक्छ ?

आफ्नो मुलुकको गौरव स्रष्टाहरूको सिर्जना, घर र उनले चलाएका वस्तुहरूको संरक्षण गरेर विदेशी पाहुनाहरूलाई अवलोकन गराउँदै व्यापक तुल्याउने चीनमा राज्य पक्षको यो प्रशंसायोग्य र अनुकरणीय काम हो । साहित्यिक तथा सांस्कृतिक आदान प्रदानको कार्यक्रमका क्रममा हामीले पनि कविशिरोमणि लेखनाथ, महाकवि देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम र युगकवि सिद्धिचरण श्रेष्ठका निवासस्थलमा स्मारकहरू बनाएर विदेशी पाहुनाहरू, साहित्यिक र सांस्कृतिक पर्यटकहरू र स्रष्टा सबैलाई लैजान पाए कस्तो हुन्थ्यो होला ?

तर आज खोई हाम्रा विभूतिहरूले जीवन बिताएका घर, तिनको सास गएको कोठा र त्यो कोठा भएको

घर ? खोई उनले हिँडेका बाटाहरू ? खोई तिनले चलाएका कलम-पेन्सिल, लगाएका जुत्ता, चप्पल ? खोई तिनका ओछयान र अन्तिम बखत ओढे-ओछयाएका कपडाहरू ? खोई तिनका हस्तलिखित किताबहरू, अहिले कहाँ छन् ? स्रष्टाहरूका पहलमा जनस्तरबाट निर्मित र स्याहारसुषार र संरक्षणको अभाव खेपिरहेका तिनका नाममा नामकरण गरिएका मार्गहरू, लावारिस प्रतिमाहरू देशभर पाइन्छन् । हो, कविशिरोमणिका नाममा एउटा लेखनाथ सदन छ । खोई देवकोटा सदन, खोई सम सदन, खोई सिद्धचरण सदनहरू ? राज्यले साहित्य र संस्कृतिको फाँटमा कहिले उचित ध्यान दिने होला ?

कल्पनाको देवकोटा सदन वा स्मारक घरमा पुग्दा कु मो रोका कान्छी छोरी गो लिङ चिङले झैं डा. पद्मप्रसाद देवकोटाहरूले सबै स्रष्टा, पाठक, विदेशी प्रतिनिधि मण्डल, र पर्यटकहरूलाई कहिले हार्दिक स्वागत गर्ने दिन आउने होला । जसले देश र देशवासीको गौरव बढाएर उनलाई इज्जत दियो, पराईका अघि शिर ठाडो गरेर उभिन सक्ने तुल्यायो, उनैको सम्झना गराउने कुनै चिहृन पनि हाम्रो सामु आज छैनन् । हामीले कहिले आˆना महान् साहित्यकारको स्मृतिलाई जीवन्त राख्ने विशाल छाती बनाउने हो ? कहिले आउला त्यो दिन ? च

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px