मधुपर्क, २०६६ कात्तिक
 
देवकोटाको पहिलो कथा उनको मने र म
-इदि्रस सायल
 

महाकवि देवकोटाले साहित्यका अरू विधामा भन्दा काव्य -कविता, खण्डकाव्य, महाकाव्य)मा सङ्ख्यात्मक रूपमा बढी योगदान गरेकाले काव्यमा नै उनको बढी चर्चा-परिचर्चा हुने गरेको पाइन्छ । उनको योगदान नाटक निबन्ध, आख्यान -कथा र उपन्यास) समालोचना, बालसाहित्य, लोकसाहित्य र अनुवादसाहित्यमा पनि भएको विदितै छ ।

विशेषगरी देवकोटाले आख्यानको क्षेत्रमा गरेको योदानलाई ओझेलमा पार्ने गरिएको छ ।

किन ? के उनले आख्यानमा योगदान गर्न कञ्जुस्याइँ गरेकाले यस्तो गरिएको हो ? होइन, वास्तविकता यस्तो नहुन सक्छ । देवकोटाले साहित्यका अरू विधामा जस्तै आख्यानमा पनि सशक्त योगदान गरेका हुन् । उनको कलम सदा तेज थियो र त काव्य, नाटक, निबन्ध, आख्यान, समालोचनाजस्ता विभिन्न साहित्यिक विधामा थुप्रै साहित्यिक कृतिलाई जन्म दिन सकेका थिए ।

देवकोटाभित्र आख्यानको ठूलो भण्डार थियो, जसले गर्दा उनले दर्जनौँ कथा र एक उपन्यासलाई जन्म दिन सकेका थिए । उनीभित्र रहेको आख्यानको धेरैजसो भाग खण्डकाव्य, महाकाव्य र नाटकमा पनि रित्तिइसकेको थियो । किनकि आख्यानले कथा र उपन्यासलाई मात्र होइन, खण्डकाव्य, महाकाव्य र नाटकलाई पनि माया गर्दोरहेछ ।

यसरी देवकोटाले आफूभित्र बाँकी बचेको आख्यान भण्डारको बाँकी भाग दर्जनौँ कथा र एक उपन्यासमा खर्च गरे । देवकोटाले आˆनो साहित्यिक जीवनमा जम्मा तेह्रवटा कथा -लक्ष्मीकथासङ्ग्रहभित्र सङ्कलित) र एउटा मात्र उपन्यास 'चम्पा' लेखे भन्न खोजिएको होइन । उनले अरू थुप्रै कथा र अरू उपन्यास लेखेका हुनसक्छ यसको सम्भावना धेरै छ । मात्र हाम्रा आँखामा नपरेको हुन सक्छ । अथवा खोज-अनुसन्धानको कमी भएको पनि हुनसक्छ । अथवा कसैले नाममा प्रकाशित गराएर आफूलाई ठूलो साहित्यकार बनाएको पनि हुनसक्छ ।

प्रसङ्ग हो, आख्यानभित्रको एक विधा 'कथा' को देवकोटा कहिलेदेखि कथा लेख्न थाले र उनले लेखेको पहिलो कथा कुन हो । यो कुरा प्रकाशनमा आउन बाँकी नै छ । यद्यपि हालसम्म बाहिर आइरहेको जानकारीअनुसार उनको पहिलो प्रकाशित कथा 'उनको मने' हो र यो कथा वि.सं. १९९६ मा 'शारदा' साहित्यिक मासिक पत्रिकामा प्रकाशित भएको थियो । नेपाली साहित्यमा अविस्मरणीय योगदान रहेको साहित्यिक पत्रिका 'शारदा' मा देवकोटाको पहिलो कथा 'उनको मने' प्रकाशित भएपछि अन्य एक दर्जन कथाहरू पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका थिए । पछि तिनै प्रकाशित कथाहरूलाई सङ्कलन गरेर वि.सं. २०३२ मा 'लक्ष्मी कथासङ्ग्रह' प्रकाशित गरिएको थियो । त्यो उनको एक मात्र कथासङ्ग्रह पनि हो ।

देवकोटाले आधुनिक नेपाली कथालेखनको सुरुवाती समयमा लेखेका ती तेह्रवटा कथाहरू नै नेपाली जनजीवनलाई गहिरोसित स्पर्श गरेकाले उनीद्वारा लेखिएका अरू थुप्रै कथाहरू प्रकाशित/अप्रकाशित अवस्थामा रहेका हुनसक्छन् । अहिलेसम्म उनको पहिलो प्रकाशित कथा मानिएको 'उनको मने' नै हो अथवा पर्दामा रहेका उनका अरू नै कथाहरू हुन् ? प्रश्नहरू उब्जिन थालेका छन् । तैपनि अर्को वास्तविकता बाहिर नआएसम्म यसैलाई वास्तविकता मान्नुपर्ने हुन्छ- 'उनको मने' नै देवकोटाको पहिलो प्रकाशित कथा हो ।

आˆनो लेखनको सुरुवाती समयमा बढी मन पराएर पढेका कृतिहरूमा देवकोटाको 'लक्ष्मी कथासङ्ग्रह' पनि एक हो । सङ्ग्रहभित्रको एक कथा 'तारा'ले मलाई धर्धरी रुवायो भने अर्को कथा 'बङ्गाली बाबु'ले उनमा विविध भाषाको ज्ञान रहेको जानकारी दियो । यसरी नै देवकोटाको यो पहिलो कथा 'उनको मने' मेरो लागि विशेष रहृयो । सो कथाले चाडपर्वमा हुने गरेका र पशुहत्याको विषयवस्तुलाई समेटेको छ । निर्दोष पशुपक्षीहरूलाई चाडपर्व र पूजाआजाका नाममा किन मारिन्छ । पशुहत्याको विपक्षमा रहेका कथाकार देवकोटाले आˆनो कथा 'उनको मने'को माध्यमबाट सबैलाई पशुहत्याको विपक्षमा उभिन आहृवान गरेका छन् । देवकोटाले सन्देश दिएका छन्- बालबालिकाझैँ सबै भैदिए यो संसार स्वर्गजस्तै हुनेथियो । यो कथाको अर्को सन्देश अहिंसाको बाटोमा लाग्नु पनि हो ।

देवकोटाको पहिलो कथा 'उनको मने' पढेर मलाई 'ईद/बकरीद' जस्ता मुस्लिम चाडपर्वहरूको याद गरायो । यी चाडपर्वहरूमा पनि थुप्रै निर्दोष पशुपक्षीहरूको हत्या हुने गर्दछ, विशेष गरेर 'बकरीद' चाडमा । यी चाडपर्वहरूमा जनतालाई मुल्लाहरूले नउक्साउँदा हुन् त केही हदसम्म पशुहत्या रोकिँदो हो । चाडपर्वहरूमा पशुहत्याको लागि जनतालाई उक्साउने मुल्लाहरू नै हुन् ।

देवकोटाको कथा पढेपछि मैले पनि त्यस्तै विषयवस्तुको कथा लेखेको थिएँ । देवकोटाको पहिलो कथा 'उनको मने' चाडपर्व -दसैँ/तिहार)मा हुने पशुहत्या जस्तो विषयवस्तुमा आधारित थियो भने मेरो 'वर्षदिन' शीर्षकको कथा मुस्लिमहरूको चाड 'बकरीद'मा मुल्लाहरूले उक्साइउक्साइ गराउने पशुहत्या जस्तो घृणित विषयवस्तुमा आधारित थियो ।

मैले त्यो कथा लेखेपछि बकरीद चाडमा मस्जिदको माइकबाट पढेर सुनाएँ पनि । सुनेर मुल्लाहरू रिसाए भने केही बूढापाकाका भलाद्मीहरूले मसँग यसरी हाँसोठट्टा गरेका थिए- इदि्रस, तिमीले लेखेर सुनाएको यो कहानी सुनेर तिम्रो नाना -बाजे/हजुरबा)को याद आयो । उहाँ कहिलेकाहीँ यहाँ आउनुहुन्थ्यो र नोहा -लोककाव्य) सुनाउनुहुन्थ्यो । 'नोहा' सुन्न उहाँलाई गाउँभरिका मानिसहरूले घेरेर बस्ने गर्दथे । अब तिम्रो कहानी सुन्न तिमीलाई पनि घेर्नेभयौँ हामीले ।"

हाम्रो स्थानीय भाषामा 'नाना' भनेर बाजे अर्थात् आमाको पिताजीलाई सम्बोधन गर्ने गरिन्छ । मेरो नाना अजमुल खाँ अवधी/उर्दूभाषाका राम्रा लोककवि हुनुहुन्थ्यो ।

मेरो त्यो 'वर्ष दिन' कथा मसँग छैन, सायद हरायो । मेरो त्यो कथा कुनै पत्रपत्रिकामा प्रकाशित पनि भएको थिएन, कुनै सङ्ग्रहमा सङ्कलित हुनु त कुरै छोडौँ । यद्यपि त्यो कथा मस्जिदको माइकबाट बजेको थियो र मुल्लाहरूको आँखाको कसिङ्गर बनेको थियो तर पनि आजपर्यन्त म कथा लेखिरहेको छु, देवकोटाको पहिलो कथा 'उनको मने' बाट अत्यधिक प्रभावित भएर ।

-सोनपुर-१, बर्गदही, बाँके

 

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px