मधुपर्क, २०६६ कात्तिक
 
महाकवि देवकोटा चित्रकला महोत्सव
रमेश खनाल
 

विश्वका नामुद कलाकारहरूले व्यक्तिचित्र बनाएर ख्याति कमाएका छन् । यसक्रममा लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको व्यक्तिचित्र अहिलेसम्म पनि सर्वाधिक चर्चित रहेको छ । हाँसो र आँसुको सङ्गमको रूपमा रहेको उक्त चित्र पेरिसको लुभ्रमा छ । बर्सेनि लाखौँलाख कलापारखीहरू लुभ्र पुगेर मोनालिसा अवलोकन गर्छन् ।

खासगरी व्यक्तिचित्र जीवन्त हुनुपर्छ । भावपूर्ण हुनुपर्छ । दर्शकसँग कुरा गर्न सक्नेे हुनुपर्छ । रङको माधुर्य त्यत्तिकै देखिने हुनुपर्दछ । प्रकाश र छायाँको बेजोड मेल हुनुपर्छ ।

नेपालमा झण्डै डेढ-दुई सय वर्ष अगाडिदेखि नै व्यक्तिचित्र बनाउन थालिएको कुरा इतिहासबाट थाहा हुन्छ । त्यसबेला बनेका व्यक्तिचित्रहरू निकै उत्कृष्ट हुन्थे । त्यस समयका कलाकारहरूले स्वअध्ययनबाट बनाएका व्यक्तिचित्रहरू राजघरानामा टाङ्गिन्थे । राणाका घर दरबारहरूमा झुण्ड्याइन्थे । राणाहरूलाई व्यक्तिचित्र बनाउने सोख जङ्गबहादुरको बेलायत भ्रमणपछि नै जागेको हो । जङ्गबहादुरले त भाजुमान नाम गरेको कलाकारलाई पनि साथै बेलायत लगेका थिए । भाजुमान बेलायतबाट नेपाल फर्किएपछि व्यक्तिचित्रहरू बनाए तर उनले बनाएका व्यक्तिचित्रहरूका सम्बन्धमा अझ पनि विवाद नै छ ।

'भाजुमानदेखि प्रारम्भ भएको व्यक्तिचित्रको परम्परालाई मात्र लिने हो भने पनि पूर्णमान, समरशमशेर, दीर्घमान, चन्द्रमानसिंह मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकार, अमर चित्रकारसम्मलाई उत्कृष्ट व्यक्तिचित्र बनाउने कलाकारहरूका रूपमा लिनुपर्दछ ।' -स्रोत ः समसामयिक नेपाली चित्रकलाको इतिहास)

हाल नेपालमा व्यक्तिचित्र बनाउने कलाकारहरू मनुजबाबु मिश्र, विजय थापा, आई.बी. मल्ल, के.के. कर्माचार्य, राजन काˆले, आलोक गुरुङ, डी.राम पाल्पाली, डी.बी. चित्रकारलगायत अन्य केही कलाकारहरू पनि सक्रिय देखाएका छन् । व्यक्तिचित्र विद्यालाई जीवन्त बनाउन आवश्यक ठानेर त्रिमूर्ति निकेतनद्वारा स्थापित लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की समारोह समितिले २०६६ साउन २३ देखि २५ गतेसम्म महाकवि देवकोटा चित्रकला महोत्सव कार्यक्रम सम्पन्न गरेको थियो । साहित्य र कलाको सङ्गम ठान्दै व्यक्तिचित्र एवं महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अमर बनाउन शतवाषिर्की समारोह समितिबाट प्रयास गरिएको कार्य निश्चय नै प्रशंसायोग्य थियो । अझ कार्यक्रमको गरिमा एवं महिमा प्रधानमन्त्री माधवकुमार नेपालको आगमन एवं प्रमुख आतिथ्य ग्रहणबाट बढ्यो । महाकवि देवकोटा कलाकारहरूको हेराइमा कस्ता देखिए त त्यो चासोको विषय अवश्य पनि हो ।

कतिपय कलाकारहरूले महाकविलाई भावपूर्ण मुद्रामा उतारेका छन् भने कतिपयले चुरोटको धुवाँ बुङ्बुङ्ती उडाउँदै बसिरहेको देखाए । कतिपयले हिटलरकट जुँगा राखेर गमक्क गम्किरहेका देखाए । कतिपयले मुस्कुराइरहेका देवकोटा बनाए । कसैले माओजस्तै देखेर चित्रमा उतारे । कतिले चौधरी कटका महाकवि बनाए । कतिले व्यथित देवकोटा देखाए । कतिले कविता लेख्दै गरेका, कविता पाठ गर्दै गरेका देवकोटालाई क्यानभासमा उतारे । ५५ जना वरिष्ठदेखि कनिष्ठ कलाकारहरूले देवकोटालाई आफूले जसरी बुझेका थिए त्यसरी नै उतार्ने प्रयास गरेको पाइयो ।

महाकवि देवकोटा चित्रकला महोत्सवमा नेपालका मूर्धन्य कलाकार स्व. अमर चित्रकारले त्यसबेला बनाउनुभएको तेल रङको माधूर्य र गाम्भीर्ययुक्त देवकोटाको चित्रलाई राखिएर महोत्सवको शोभा बढेको अनुभव हुन्थ्यो । व्यक्तिचित्रका हस्ती अमर चित्रकारले अनगिन्ती व्यक्तिचित्र एवं मूर्तिहरू बनाउनुभएको छ । उहाँको व्यक्तिचित्रमा लालित्यलाई विषेश ध्यान दिइएको हुन्छ ।

अर्का पोटे्रट चित्र बनाउन कहलिनुभएका कलाकार विजय थापाको पनि कविता, रेखा भावयुक्त चित्र टाङ्गिएको थियो । कलाकार डी.बी. चित्रकारले चुरोटको धुवाँ तान्नमा व्यस्त देखाउनुभएको छ । उहाँले चारकोल माध्यम प्रयोग गर्नुभएको छ । पोटे्रट त आई. बी. मल्लको पनि सुन्दर बन्छ । यस पटक उनले दाँत देखाएर हाँसिरहनुभएका महाकविलाई तेल रङबाट बनाउनुभएको छ । मल्लको पोटे्रट कला जीवन्त र भावपूर्ण छ । के. के. कर्मचार्यले माला लगाएर कुर्सीमा बसिरहनुभएका महाकविलाई बनाउनुभएको छ । उहाँको पोटे्रटमा मालाको चाहक बढी देखिएको छ ।

महाकवि देवकोटा चित्रकला महोत्सवमा केही युवा कलाकार राजन काˆले, रोशन प्रधान, उमेश श्रेष्ठ, जीवन राजोपाध्याय, इन्द्र खत्री, अनाम चित्रकार, चन्द्रकुमार ताम्राकार र एस. बी. धिमालले बनाएका महाकवि देवकोटाको व्यक्तिचित्र स्तरीय थिए । भविष्यमा आशालाग्दो कलाकारका रूपमा उहाँहरू देखिनुभएको छ ।

अन्य कलाकारहरूले महाकविको आकृति मिलाउने प्रयास मात्र गरेको देखियो । महाकविलाई हृदयबाट क्यानभासमा समर्पण गर्न खोजेको प्रतित हुन्थ्यो । कलाकार भएर कलाकारहरूले सच्चा हृदयबाट महाकविलाई उतार्न प्रयास गर्नु नै ठूलो कुरो हो । साहित्यकार र कलाकार एक-अर्काका पूरक नै हुन् । कलाकारलाई साहित्य चाहिन्छ । उसले बनाएका चित्रहरू शब्दद्धारा सम्प्रेषित गरिनुपर्छ ।

महाकविलाई कलाकारहरूले जुन आँखाले देखे त्यसैलाई क्यानभासमा जीवन्त बनाउन चाहन्थे । यसरी महाकविलाई जीवन्त बनाउन प्रयास गर्ने अन्य कलाकारहरू राकेश महर्जन, सुदन श्रेष्ठ, राजकृष्ण महर्जन, रत्नकाजी शाक्य, रमेश खनाल, पूर्ण अनिस, अमृत घले, पूर्ण बनेम, श्यामकृष्ण महर्जन, रमेश कडायत, प्रकाश पौडेल, विष्णुप्रसाद चौधरी, विपना महर्जन, अरविन नन्दा शाक्य, रवीन्द्र बलामी, भीष्म खत्री, गेहेन्द्रमान अमात्य, डा. मोदनाथ प्रश्रति, रवीन्द्रकुमार श्रेष्ठ, शारदा शर्मा, चन्द्र महर्जन, शङ्करनाथ रिमाल, सजु उपाध्याय, किशोर नकर्मी, रवीन्द्र श्रेष्ठ, अशोकप्रसाद थपलिया, गौतमरत्न तुलाधर, करिनदेवी महर्जन, सविता गुरुङ, हेम पौडेल, मदन श्रेष्ठ, धिरज चौधरी, रोहन कपाली, शारदा चित्रकार, राजु चित्रकार, प्रकाश मानन्धर, हरि खड्कालगायत थिए ।

उक्त चित्रकला महोत्सवमा कलाकारहरूले तेल रङ, पेस्टल रङ, पेन्सिल, भुत्ला, एक्रेलिक रङ, जल रङ, चारकोल माध्यम प्रयोग गरेर महाकविको व्यक्तिचित्र बनाएका थिए । यसक्रममा उनीहरूले यथार्थवादी, प्रभाववादी, धनवादी, अभिव्यञ्जनालाई आत्मसात् गरेका थिए ।

महाकवि देवकोटा जन्म शताव्दी महोत्सवअन्तर्गत आयोजित प्रदर्शनीमा राखिएका प्रतियोगी चित्रहरू -केही चित्रहरू अप्रतियोगी थिए) मध्येबाट उत्कृष्ट १० छनोट गरी त्यसका स्रस्टालाई पुरस्कारस्वरूप जनही दस-दस हजार दिइने कुरा सदस्य सचिव नरेन्द्रराज प्रसाइर्ंले कार्यक्रममा बताएका थिए भने पुरस्कृत स्रस्टाहरूको नाम घोषणा भइसकेको पनि छ ।

तीन दिने प्रदर्शनी थोरै भएको कुरा कला अनुरागीहरूले व्यक्त गरेका थिए । जे होस् महाकवि देवकोटा चित्रकला महोत्सव स्वयंमा एक भव्य कार्यक्रम थियो ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px