उमेरले पचासी वर्षमा हुनुहुन्छ वरिष्ठ साहित्यकार श्यामदास वैष्णव तर उहाँको सिर्जना र सक्रियताले त्यस्तो अनुभव गराउँदैन ।
वि.सं. १९८१ मा जन्मनुभएका वैष्णवको रचना सर्वप्रथम वि.सं. २००१ मा प्रकाशित भएको थियो । प्रकाशन वर्षलाई आधार भन्दा पनि साढे छ दशकको लामो साहित्यिक यात्रा गरिसक्नु भएको छ उहाँले । साहित्यका अतिरिक्त उहाँ रेडियो नेपालको कार्यक्रम सञ्चालक तथा गीत, रूपक र नाटक लेखकका रूपमा पनि प्रसिद्धि कायमै छ । सिर्जना र श्रवण विधाका अनुभवी वैष्णव रेडियोमा सफलतापूर्वक बोल्नलाई विषयवस्तुलाई आत्मसात् गरेर मनलाई स्वरमा प्रस्तुत गर्नुपर्ने बताउनुहुन्छ ।
सुन्दर अक्षर र सरल स्वभावका कारण उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठजस्ता साहित्यकारहरूको सहयोगी हुनुभयो । त्यसमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाका गणेश रूपमा चिनिनुहुन्छ श्यामदास वैष्णव ।
á तपाईंको सिर्जना यात्रा कहिले र कसरी प्रारम्भ भयो ?
- वि.सं. १९९५ मा कवि शिरोमणि लेखनाथ पौड्यालको कविताबाट प्रभावित भएपछि सिर्जनातर्फ आकषिर्त भएको हँु । मेरो प्रकाशन शारदा मासिक वि.सं. २००१ देखि सुरु भएको हो ।
á लेखनको कुनै उद्देश्य थियो कि ?
- खास कुनै उद्देश्य थिएन । रमाइलो लागेर लेख्न थालेको हुँ ।
á अहिलेसम्म के गरेँ भन्ने लाग्छ ?
-नयाँहरूलाई प्रोत्साहन गर्न र स्थापित लेखकहरूलाई सघाउन सकेँ । नेपाली साहित्यमा केही न केही गरेँ भन्ने लाग्छ तर आत्मसन्तोष भने पूरा भएको छैन ।
á वैष्णव किन राख्नु भएको ?
- वैष्णव भनेको विष्णुको उपासक हो । बाबुबाजे विष्णु मन्दिरका पुजारी थिए । बाजेहरूका थरको सट्टामा बैरागी लेख्थे । बाबुको पालादेखि वैरागीको सट्टामा वैष्णव राख्न थालेकोले मैले पनि राखेको हुँ ।
á महाकवि देवकोटासँग कहिले र कसरी भेट भयो ?
-वि.सं. १९९७ तिर डिल्लीबजार नाटक मण्डलीका केशवराज कणिर्कारले गाईजात्रामा नाटक देखाउन महाकविलाई लेखाउन लगाएका थिए ।
त्यही नाटक 'भरत मिलन' को ताकेता गर्न उहाँकहाँ पहिलो पटक गएको थिएँ ।
á कसरी नजिकिनु भयो त ?
- त्यही नाटक महाकविले मलाई सार्न लगाउनु भो । मेरो अक्षर देख्नासाथ उहाँले मैले खोजिरहेको मान्छेजस्तै रहेछौ भन्नुभयो त्यसपछि नजिकिएँ । मेरो अक्षरको कारण महाकविले आˆनो सहायक बनाउने गरी भाषानुवाद परिषद्मा मासिक पन्ध्र रुपियाँ तलब पाउने गरी जागिर खुवाउनु भएपछि झन् नजिकिएँ ।
á तपाईंंलाई गणेश कवि किन भनिएको हो ?
एक दिन परिषद्मा महाकाव्य लेखनको सम्बन्धमा पुष्करशमशेरसँग महाकवि निकै झोक्किनु भयो । धेरै बेरपछि पुष्करशमशेरले अप्रत्यक्षरूपमा माफी माग्नु भएपछि स्थिति सामान्य भयो । त्यसपछि महाकवि र म बाहिर जाँदै थियौँ । भित्र हुनुभएका इतिहास शिरोमणि बाबुराम आचार्य, पूर्णप्रसाद ब्राहृमण, बदरीनाथ भट्टराईहरूले महाकविलाई वेदव्यास र मलाई गणेश भनेर कुरा गरिरहनु भएको सुनियो ।
áतपाईंको लेखनमा महाकविको कत्तिको प्रभाव परेको छ ?
-महाकवि अलि जटिल लेख्नुहुने तर म सरल, सरस र मार्मिक पक्षमा लागेकोले उहाँको खासै प्रभाव ममा परेन तर उहाँको बौद्धिक प्रभाव त परेकै छ भन्छु ।
áमहाकविका कुनै अप्रकाशित रचना तपाईंसँग बाँकी छन् ?
-छैनन् । मसँग दुईवटा कृति थिए । जसमध्ये 'वन कुसुम' महाकाव्यको खेस्रा साझामा र महाकविले वि.सं. २००४ मा हिउँ परेको बेला रातभरमा लेख्नुभएको 'तुषार वर्णन' सांस्कृतिक सङ्घलाई प्रकाशनार्थ दिएको थिएँ ।
áमहाकविको कविता छपाएर कवि बन्नेहरू पनि छन् भनिन्छ नि ?
-मलाई त्यस्तो लाग्दैन । महाकविका कविता जसको नामबाट छपाए पनि उहाँको शैलीबाट थाहा पाइहालिन्छ नि ।
á'मुनामदन' बाहेक सबै जलाइदिनु किन भन्नुभएको हो ?
-यो भनिएको नै होइन । यो संवेदनात्मक गफ मात्र हो । 'मुनामदन' को सर्वाधिकारसहित नेपाली भाषा प्रकाशिनी समितिलाई असी रुपियाँमा बेच्नुभएको थियो । साझामा क्षेत्रप्रतापजी अध्यक्ष हुनुभएपछि मुनामदनको प्रकाशनैपिच्छे लेखकस्व दिने व्यवस्था गर्नुभएको चाहिँ सत्य हो ।
áदेवकोटाले महाकविको उपाधि कसरी पाउनुभएको थियो ?
-त्यतिबेलाको आधिकारिक संस्था भाषानुवाद परिषद् र नेपाली भाषा प्रकाशिनी समितिले 'शाकुन्तल' महाकाव्य पहिलोपटक प्रकाशित गरेपछि विद्वान् बदरीनाथ भट्टराईले आदरपूर्वक महाकवि भन्नुभएको थियो । त्यसपछि स्वतः महाकवि हुनुभयो ।
áमहाकविले आˆनो नामको अगाडि 'महाकवि' लेख्नु हुन्थ्यो ?
-उहाँले कहिलै पनि महाकवि लेख्नु भएन ।
áलेखनको सुरुवात कसरी गर्नुहुन्थ्यो ?
- उहाँ लेख्नुअघि कपीमा टाउकोमा कलमै नउठाई पञ्चकोण बनाउनु हुन्थ्यो । त्यसलाई सरस्वतीको आराधना गरेको भन्नुहुन्थ्यो । लेख्नुअघि दायाँबायाँतिर हेर्नुहुन्थ्यो र घोप्टो परेर लेख्न थालेपछि लेख्यालेख्यै । कहिलेकाहीँ लेख्दालेख्दै छन्दमा गुनगुनाउनु हुन्थ्यो ।
áप्रायः लेख्ने काम कहाँ गर्नु हुन्थ्यो ?
-उहाँ अफिसमा त्यति बस्नु हुन्थेन । हाजिर भएर केही कुराकानी गरेर घरमै गएर लेख्नु हुन्थ्यो ।
áमहाकविले कुनै पुरस्कार, सम्मान पाउनु भएको थियो ?
-'शाकुन्तल' महाकाव्य घरमै बसेर अतिरिक्त समयमा लेख्ने काम गरेको भनेर महाकविको छोरीको विवाहमा रू. ५००।- विशेष मेहनतबापत पाउनुभएको थियो ।
áकस्ता पुस्तक पढ्न रुचाउनु हुन्थ्यो ?
-कहिलेकाहीँ अङ्ग्रेजीका पुस्तक पढेको देख्थेँ । उहाँको लेख्ने र पढाउनेजस्तै अद्वितीय क्षमता पढ्नेमा पनि थियो । कुनै पनि पुस्तक सरर पल्टाएर सुरुमा, बीचमा र अन्त्यमा पढ्नु भएपछि के सोध्नुपर्छ सोध भन्ने गर्नुहुन्थ्यो ।
áलुगाफाटोमा कत्तिको ध्यान दिनु हुन्थ्यो ?
-लुगामा पूरै बेवास्ता गर्नुहुन्थ्यो । न लुगामा इस्त्री हुन्थ्यो, न जुत्तामा पालिस नै ।
áखानामा विशेष स्वाद थियो कि ?
-खसीको टाउकोको रस र मासु खान असाध्य मन पराउनु हुन्थ्यो ।
áपूजा गर्ने, मन्दिर जाने पनि गर्नु हुन्थ्यो ?
- कहिलै देखिनँ । सामाजिक चाडपर्वमा टीकोटालो भने गर्नुहुन्थ्यो ।
á कस्तो समयमा दुःखी हुनुहुन्थ्यो ?
-दुःख जति कलममै पोख्ने भएकोले शब्दले दुःख प्रकट गर्नुहुन्थेन ।
á कुनै गुनासो गर्नु हुन्थ्यो ?
-मैले लेखेको सबैले तारिफ गर्छन् तर शङ्करदेव पन्तले कहिल्यै श्रेय दिएन भनेर एकपटक मसँग गुनासो गर्नुभएको थियो ।
áजुवा, तास खेल्नु हुन्थ्यो ?
कहिलेकहीँ दाजुभाइसँग पासा खेल्नुहुन्थ्यो । उहाँ कहिलै जित्नु हुन्थेन । एकपटक त उहाँले फाउण्टेन पेन पनि पासामा थाप्नु भयो र हार्नुभयो । त्यो कुरा मैले परिषद्मा भन्दिएँ । पछि उहाँले मलाई हप्काउनु भएको थियो ।
áकस्ता विद्यार्थीहरू ट्युसन पढ्न आउँथे ?
-राणाजी र सम्पन्न व्यापारीका छोराहरू आउँथे । ट्युसन फी. रू. १००।- थियो तर चार जनाको समूहमा पढेर रु २५ ।-का दरले पनि दिन्थे ।
áउहाँको कविता वाचन कला कस्तो थियो ?
-कविता पढ्दा कहिले बनावटी स्वर निकाल्नु हुन्थ्यो तर धेरै जसो नाके स्वर आउँथ्यो उहाँको ।
á महाकविका कुनै रचनाको सस्वर अभिलेख छ ?
-मृत्यु शय्यामा केदारमान व्यथितले देवकोटाको वेदना रेकर्ड गर्नुभएको थियो । त्यो थाहा पाएपछि माधव घिमिरेले पनि भोलिपल्ट देवकोटाका भनाइहरू रेकर्ड गर्नुभएको थियो ।